कोरोना भाईरसका कारण मृत्यु भएको शवलाई दाहसंस्कार स्थलसम्म लैजानका लागि सुरक्षित ढंगले प्याकिङ गर्दै टोली । (तस्बिर : उज्यालो अभियान)

पाँचकुमारी – नेपाली सेनाको एक टोलीले आज (आईतबार) दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका–२, पाँचकुमारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण सम्बन्धी विभिन्न प्रस्तुतीहरु प्रदर्शनी गरेको छ ।
नेपाली सेनाको रणशेर गण छेउको खेल मैदानमा मध्य पुर्वी पृतनाको विशेष फौज अमरदल गुल्मका सुरक्षाकर्मीहरुले प्रस्तुती देखाएका हुन् । सह सेनानी विद्युत कुमार बस्नेत नेतृत्वको टोलीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को प्रयोग गर्ने तरिका, कोरोना भाईरस संक्रमितलाई अस्पतालसम्म लैजाने तरिका, कोरोना भाईरसबाट मृत्यु भएको शवको अन्तिम संस्कारसम्मको व्यवस्थापन कार्य लगायत बारेमा प्रस्तुती गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, हरिवन, लालबन्दी, हरिपुर, ईश्वरपुर नगरपालिकाका मेयरहरु क्रमशः गणेशप्रसाद प्रसाईं, मानबहादुर खड्का, जमिरुद्धिन मन्सुर र मनोज देवकोटा, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप सिंह सहित जिल्ला स्थित विभिन्न पालिकाका स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतले सेनाको प्रस्तुती हेरेका थिए ।