असिना पानीले बागमती नगरपालिकाको विभिन्न भागमा कृषि उपजमा ठूलो नोक्सान

नवराज अधिकारी
बागमती-सर्लाहीको बागमती नगरपालिकाको विभिन्न भागमा बिहिवार दिउँसो परेको असिना पानीले कृषि उपजमा ठूलो क्षति गरेको छ ।
जिल्लाका अन्य क्षेत्रमा सामान्य वर्षा मात्रै भएपनि बागमती नगरपालिकाको जिरायत, धरहरा लगायतका ठाउँमा असिना सहित पानी परेको हो । असिनाले भर्खरै रोपेर टूसा हाल्दै गरेको मकै, धान चमारा लाग्ने बेला भएको मकै, विभिन्न तरकारी बाली र अन्य कृषि उपजमा क्षति गरेको किसानले बताएका छन् ।
यस्तै असिनाले खपडाको छानो भएका घरहरुमा पनि क्षति गरेको छ । केही दिनदेखि जिल्लाको बागमती र बरहथवा नगरपालिकामा पटक–पटक आएको असिना पानीले कृषि उपजमा क्षति पु¥याइरहेको छ ।
यसैगरी बिहिवार राती पनि जिल्लाको विभिन्न ठाउँमा वर्षा भएको थियो । आज (सुक्रवार) बिहान भने जिल्लाको मौसम सफा रही घाम लागिरहेको छ ।
मौसमविद्ले अहिले प्रि–मनसुनको अवस्था रहेकाले सफा रहेको मौसम एकैछिनमा बद्ली भएर हावाहूरी, चट्याङ, र असिनासहित पानी पर्ने सम्भावना रहने बताएका छन् । यो बेला नजिकै एक ठाउँमा पानी पर्दा छेउकै अर्को ठाउँमा पानी नपर्ने अवस्था हुने मौसमविद्को भनाई छ ।