भारतीय सिमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरी । (फाईल तस्बिर : उज्यालो अभियान)
मलंगवा – भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाईनमा राखेका १२३ जना नेपालीलाई सिमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् ।
भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई कनौली नाका स्थित लखन्देही खोलामा विहिबार राती छाडिदिएका हुुन् । सोनवर्षा लगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले गएराती लखन्देही खोलाको बाटो देखाईदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । ‘केही दिनदेखि क्वारेन्टाईनमा राखिएका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले बिना जानकारी सिमा क्षेत्रमा ल्याएर छाडिदिएका छन्’, प्रजिअ जिसीले भने, ‘राती देखि नै उनीहरुलाई सिमा क्षेत्रमै रोकेर राखिएको छ, अब जिल्लाभित्रै तत्काल क्वारेन्टाईन स्थापना गरेर उनीहरुलाई राख्ने तयारी भईरहेको छ ।’
सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठले १२३ जनामध्ये हाल कनौली नाकामा ९५ जना रहेका र अन्य लुकेका हुन सक्ने जानकारी दिए । यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट छिरिसकेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाईनमा राखेका छन् ।