जिल्लाको उत्तर पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका वडा नम्वर १४, श्रीनगरमा रहेको जनता माध्यमिक विद्यालयको कम्प्यूटर त्यही विद्यालयका विद्यार्थीले चोरी गरेका खुल्न आएको छ ।
यही माघ १९ गते रातको समयमा विद्यालयको दोस्रो तल्लास्थित कम्प्यूटर कोठाबाट १० थान कम्प्यूटर चोरी भएको थियो । चोरीमा सोही विद्यालयमा पढ्ने १५÷१५ वर्षका दुई बालक संलग्न रहेको र उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङले जानकारी दिए । उनले कम्प्यूटर चोरीमा अन्य केही व्यक्ति पनि संलग्न रहेका र उनीहरुको समेत खोजी भइरहेको बताए ।
विद्यालयबाट चोरी भएका कम्प्यूटर र अन्य सामग्री विभिन्न स्थानमा खाल्डो खनेर गाडिएको, झ्याडीमा लगेर फालिएको र उखुको पत्करले छोपेर राखेको अवस्थामा प्रहरीले बरामद गरी बिहिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।