छोरी शिक्षा बीमा कार्यक्रममा ल्याईएका बालिका बोक्दै हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर (बायाँ) एवं उपमेयर रेणुका काफ्ले तथा साथमा प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटा । (तस्बिर सौजन्य : उपमेयर रेणुका काफ्लेको फेसबुक वाल)
हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा ५० जना छोरीको शिक्षा बीमा गरिएको छ ।
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत निःशुल्क छोरी शिक्षा बीमा शिविर तथा स्वास्थ्य परिक्षण कार्यक्रम सोमबार प्रारम्भ गरिएको नगरप्रमुख जमरुद्धिन मन्सुरले जानकारी दिए । कार्यक्रम अन्तर्गत सोमवार ५० जना बालिकाको खाता खोलिएको र थप ११२ जना छोरीहरुको नाम दर्ता भइसकेकाले मंगलवारबाट क्रमैसँग बैंक खाता खोलिने नगरप्रमुख मन्सुरले बताए । जिल्लाका सबै पालिकाले अहिले २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरुको धमाधम शिक्षा बीमा गरिरहेका छन् ।
शनिवार र आइतवार लालबन्दी नगरपालिकामा आयोजित बीमा शिविरमा २४४ जना छोरीहरुको शिक्षा बीमा गरिएको थियो । जिल्लामा केही दिन अघि ईश्वरपुर नगरपालिकाबाट छोरी शिक्षा बीमा कार्यक्रम सूरु गरिएको थिए ।
बालिकाहरुलाई १ लाख २५ हजार रुपैयाँको विमा गर्ने गरी प्रदेश २ सरकारले यो कार्यक्रम प्रदेशभर नै सञ्चालन गरिरहेको हो । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग यसअघि नै सम्झौता गरिसकेको छ । प्रदेश सरकारले नवजात बालिकाको नाममा एकमुष्ट रकम जम्मा गरेपछि २० वर्ष पछि बैंकले बालिकालाई १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रममा उल्लेख छ ।