मलंगवा, २२ साउन – बाँध भत्काएर लखन्देहीखोलाको बाढी पस्दा मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा भर्खरै रोपिएको करिव एक हजार पाँच सय बिघा धानबाली डुबानमा परेको छ ।
गत सोमबार राति लखन्देहीखोलामा आएको बाढी कौडेना गाउँपालिका–५, छपकैयामा बाँध भत्काएर किसानको धानखेतमा पसेको हो । बाढीले कौडेना गाउँपालिका–५, छपकैयामा ८०० बिघा, मलंगवा नगरपालिका–६, खुटौनामा ५०० बिघा र मलंगवा नगरपालिका–५, भाडसरमा ३०० बिघा धान खेत डुबानमा परेको किसानले बताएका छन् ।

बाढी पसेर खेत नजिकै रहेका केही घर र गोठसमेत डुबानमा परेका छन् । भाडसर गाउँका मुमताज मिकरानीले चार दिनदेखि बस्ती र धान खेत डुबानमा परेको गुनासो गरेका छन् ।
१५ वर्षदेखि हरेक बर्खायाममा यस्तो समस्या झेल्दै आएको मिकरानीले सुनाए । उनले भने, “यो अहिलेको मात्र समस्या होइन्, १५ वर्षदेखि बर्खामा यस्तै पीडा झेलिरहेका छौँ ।”
खुटौना गाउँका श्याम राय यादवले चार दिनदेखि बस्ती र खेतबारी डुबानमा परे पनि पानीको निकासका लागि कसैले वास्ता नगरेको बताए । कौडेना गाउँपालिकाको शिवनगरमा खेत बारम्बार डुबानमा परेपछि त्यहाँको खेत बेचेर खुटौना बसाइसराइ गरेर आएको भए पनि यहाँसमेत सोही प्रकारको समस्या झेल्नु परेको यादवले गुनासो गरेका छन् ।

लखन्देहीखोलामा बाँध बाँधिएको तर अध्ययन नै नगरी बाँध बनाइएपछि बारम्बार बाँध भत्किने र उल्टै पानीको निकास नभएर डुबानमा पर्ने समस्या रहेको यादवले बताए । उनले भने, “बस्तीको पानी निकास हुन नसकेको र बाँध बाधेपछि पनि बाढी पस्न नछाडेका कारण बारम्बार यो समस्या आइरहन्छ ।”
भर्खरै रोपिएको धान चार दिनदेखि डुबानमा परेर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । अब पुनः धान रोपाइँका लागि ब्याड तथा खरुन नरहेकाले किसानलाई समस्या परेको हो ।
मलंगवा नगरपालिका–६, खुटौनाका वडाध्यक्ष रामकैलाश यादवले बागमती नहर र भुड्की नहरमा प्रशस्त पानी रहेकाले किसानले बेलैमा धान रोपाइँ सक्नासाथ लखन्देहीको बाढी पसेर क्षति पु¥याएको जानकारी दिए । बाढीले यसै वर्ष वडा कार्यालयबाट १८ लाख रुपियाँ खर्चिएर बनाएको बाँधमा समेत क्षति गरेको वडाध्यक्ष यादवले बताए ।
वडाध्यक्ष यादवले लखन्देहीखोलाले वर्षेनि धार परिवर्तन गरेर कटान तथा डुबानको समस्या निम्त्याउने गरेको बताए । उनले भने, “एकातिर बाँध कस्यो, बाढी आएर धार परिवर्तन गरी अर्कोतर्फ बाँध भत्काउँदा वर्सेनि यस प्रकारको हैरानी भइरहन्छ ।”

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले लखन्देहीखोलाले छपकैया, शिवनगर, सक्रौललगायत क्षेत्रमा हरेक साल डुबान तथा कटानको समस्या पैदा भइरहेकाले अब दीर्घकालिन समाधानका लागि केन्द्रीयस्तरमै ठूलो किसिमको योजना माग गर्ने तयारीमा रहेको बताए । उनले भने, “पालिका वा तटबन्ध कार्यालयले पाँच÷दस लाख खर्चिएर रोकथाम हुने अवस्था नै छैन्, त्यसैले अली ठूलै बजेट खर्चेर व्यवस्थित तटबन्ध कस्न पहल गरिरहेका छौँ ।”
बाढी पसेर सबैक्षेत्र जलमग्न हुँदा सदरमुकाम मलङ्गवाबाट अहिले भाडसर र खुटौना पुग्नसमेत कठीन रहेको स्थानीयले बताएका छन् । चार दिनदेखि बाटो माथिबाटै बाढी बगिरहेकाले सदरमुकाम र सीमापारी भारतीय बजारसम्म पुग्न कठीन रहेको खुटौना गाउँका युवा मोहम्मद सदाम हुसैनले बताए ।

लखन्देहीखोलाले बाँध कटान गरेको छपकैयामा बिहीबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगी बोरामा बालुवा भरेर अस्थायी तटबन्ध कस्ने प्रयास गरे पनि सम्भव भएन् । बाँध कटान भएको स्थानमा पुगेका सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बाँसको व्यवस्थापन गरी किसानको खेत र बस्तीतर्फ सोझिएको भङ्गालो थुन्ने प्रयास गरिने बताएका छन् ।
बिहीबार छपकैया पुगेका सर्लाही २ का प्रतिनिधि सभा सदस्य रविन महतोले समस्या समाधानका लागि आफूले पनि पहल गर्ने बताए । । उनले पीडित किसानका लागि क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने बताए ।