logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जताततै चुनावी चर्चा : उम्मेदवारबारे सर्वत्र चासो


  • उज्यालो अभियान

राजनीतिज्ञदेखि हरेक पेशा, व्यवसायका मानिस सहभागी भएर चुनावीसहित अन्य विषयमा चर्चा गर्ने प्रमुख थलोको रुपमा रहेको लालबन्दी नगरपालिका ७ डुमडुमेस्थित चर्चित विनोद साह (भान्जा) को चिया पसल । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २२ पुस – फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई महिना मात्र बाँकी रहँदा सर्लाहीमा चुनावबारे सर्वत्र चर्चा र चासो व्यक्त हुन थालेका छन् ।

घर, चोक, चौतारा र चिया पसलमा चुनावी गफगाफले प्राथमिकता पाउन थालेको हो । चुनावमा कुन राजनीतिक दलबाट को उम्मेदवार हुने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहँदा विभिन्न सम्भावित उम्मेदवारहरुको विषयमा समेत छलफल हुन थालेको छ । केही राजनीतिक दलले एकल सिफारिस गरेकाले कुनै राजनीतिक उथलपुथल नभए जिल्लाबाट एकल सिफारिस भएका ति नेताहरु उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।

प्रमुख राजनीतिक दलसहित सम्पूर्ण दलहरुले समानुपातिकतर्फका सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै चुनावको चर्चा झनै बढेको हो । नागरिक समाजका अगुवा र राजनीतिक दलका नेताहरुले समेत सबै दलले समानुपातिक सांसदको सूची बुझाएसँगै देश चुनावमा होमिएको प्रतिक्रिया दिन थालेका छन् ।

नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले पछिल्ला राजनीतिक घटनाक्रम, शीर्ष नेताहरुको देश दौडाह, सम्भावित उम्मेदवारको आउजाउ बाक्लिनु र सबै राजनीतिक दलले समानुपातिकतर्फको बन्द सूची बुझाएपछि देश चुनावमा होमिएको महसुस हुन थालेको बताए । “चुनाव स्वीकार गरेर सबै राजनीतिक दलले समानुपातितर्फको बन्दसूची बुझाइसकेकाले अब सन्सय रहेन,” झाले उज्यालो अभियानसँग भने “सर्लाहीमै पनि राजनीतिक दलहरुले भेला, सभा, बैठकजस्ता चुनाव केन्द्रित गतिविधिलाई तीव्र पारेको देख्न सकिन्छ ।”

प्रतिनिधिसभाको चुनावका लागि प्रत्यक्षतर्फ जिल्लाबाट सिफारिसमा परेका नेताले चोक, बजारमा भेटघाट बढाउन थालिसकेका छन् । सर्लाहीबाट अधिकांश राजनीतिक दलले आकांक्षी उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेर पठाइ सकेको अवस्था छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही साना दलले मात्र उम्मेदवार सिफारिस गरेर पठाउन बाँकी छ । नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले क्षेत्राबाट आएका नामहरु केन्द्रमा समेत पठाइसकिएको बताए ।

अन्य निर्वाचन क्षेत्रबाट आउन खोजेका नेताहरु र केन्द्रीय नेताहरु समेत आएर चुनाव लड्ने चर्चा पनि उत्तिकै छ । चुनावकै मुखमा केही दलका जिल्लास्थित प्रभावशाली नेताले पार्टी छाडेका, कोही दल परिवर्तन गरेर अर्को दलमा लागेका, कोही टिकट नपाए अर्को पार्टीमा जान तम्तयार भएर बसेका, चुनावको मुखमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा विशेष महाधिवेशन हुन लागेकालगायत विषयले पनि अहिले चर्चा पाइरहेको अवस्था छ ।

सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारका आकांक्षी बैकुण्ठ सापकोटाले भर्खरै उज्यालो नेपाल पार्टीसँग पार्टी एकता भएकाले दुवै दलका नेताहरु बसेर छलफल गर्नुपर्दा उम्मेदवार सिफारिसमा ढिलाइ भएको उज्यालो अभियानसँग बताएका छन् । यसअघि उम्मेदवार सिफारिस गरेर पठाइसकेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सर्लाहीले अब केन्द्रमा जनता समाजवादी पार्टी नेपालसँग एकता भएपछि उम्मेदवार सिफारिसबारे पुनः बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ ।

लोसपाबाट क्षेत्र नं. १ मा एकल सिफारिसमा परेका तथा निवर्तमान सांसद रामप्रकाश चौधरीले केन्द्रमा शीर्षस्त नेताहरु बसेर हुने निर्वाचन क्षेत्र बाँडफाँड सम्वन्धी निर्णय अनुसार नै यहाँ अघि बढ्ने बताए । जसपा नेपाल सर्लाहीले सोमबार मात्रै उम्मेदवारहरु सिफारिस गरेको जिल्ला अध्यक्ष रणधीरकुमार यादवले बताए ।

सर्लाहीमा विभिन्न सात राजनीतिक घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस ११ गते सदरमुकाम मलंगवामा राखिएको बैठकमा उम्मेदवारका लागि आकांक्षा राख्ने सबैको नाम केन्द्रीय कमिटीमा पठाएको छ । नेकपा सर्लाहीका नेता प्रह्लाद बुढाथोकीले धेरै जना आकांक्षी भएपछि छलफलमा आएका सबै नाम उतारेर केन्द्रमा पठाइएको जानकारी दिए ।

सबैभन्दा सुरुमा नै उम्मेदवार सिफारिस गरेर पठाएको कांग्रेस सर्लाहीभित्र भने अहिले चर्को विवाद छ । पर्टीका जिल्ला सचिव निरज कार्कीले क्षेत्रीय कार्य समितिबाट जे जति नाम आए, ति सबै केन्द्रमा पठाइएको बताए । उनले पार्टीभित्रको विशेष महाधिवेशनको कुरा उठिरहेकाले त्यसतर्फ पनि केन्द्रीत भएको सुनाए ।

गाउँघरका चोक, चौतारामा चुनावकै कुरा हुन थालिसकेको हरिपुर नगरपालिका २ का अमृत मोक्तानले बताए । जेनजी आन्दोलनपछि युवा समूहमा पनि चुनावबारे चासो र आफै समेत चुनाव लड्ने इच्छा व्यक्त गर्न थाल्नेहरु धेरै भेटिन थालेका मोक्तानको भनाइ छ ।

राजनीतिक दल चुनावमा होमिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयसमेत चुनावको तयारीमा जुटेको छ ।

सर्लाहीका जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले फागुन २१ को निर्वाचनका लागि मतदानस्थलको निरीक्षण गर्ने, निर्वाचनसँग सरोकार राख्ने समितिहरुको बैठक राख्ने र निर्वाचन आयोगले दिएको निर्देशनअनुसार अन्य तयारीको काम गरिरहेको जानकारी दिए ।