logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मेयरसहितको टोलीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन


  • उज्यालो अभियान

लालबन्दी, ०५ मंसिर – पछिल्लो समय उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरिरहेको काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको लालबन्दी नगरपालिकाको टोलीद्वारा अनुगमन गरिएको छ ।

लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा कागेश्वरी मनोहरास्थित मुलपानी पुगेर त्यहाँ रहेको नगर अस्पतालको अनुगमन गरेको हो । लालबन्दी नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल लालबन्दीले पनि पछिल्लो समय यहाँ उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीले केही दिनअघि लालबन्दीलाई जिल्लामा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै सम्मान गरेको थियो । यहाँको नगर अस्पताललाई अझ कसरी उत्कृष्ट बनाउन सकिन्छ भनी राजधानीस्थित प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरिरहेको कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन गर्न पुगेको नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए ।

लालबन्दीका नगरप्रमुख अधिकारी, विभिन्न वडाका वडाध्यक्ष, अस्पतालका मेसु चौधरी, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीलगायत भएर नगर अस्पताल कागेश्वरी मनोहराको अनुगमनसहित त्यहाँको सेवा सुविधा र नगरपालिकाले चालिरहेको कदमको विषयमा जानकारी लिएका छन् ।

कागेश्वरी मनोहराले गरेका राम्रा प्रयासको सिकाइबारे जानकारी लिन त्यहाँ पुगेको नगरप्रमुख अधिकारीले बताएका छन् । लालबन्दी नगरपालिकाको टोलीलाई अस्पताल सुधारबारे भइरहेको प्रयास र योजनाबारे कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेल, इर्मेजेन्सी शाखाका इन्चार्ज पाण्डबराज बराललगायत भएर जानकारी गराएका छन् ।

सर्लाहीमा नगर अस्पताल लालबन्दीले पूर्वपश्चिम राजमार्ग क्षेत्रका स्थानीयलाई सर्वसुलभ र सहज सेवा प्रदान गर्दै आइरहेको छ ।