प्रदेश सांसद् अशोककुमार यादव ।
अशोक यादवविरुद्ध राज्य विद्रोहको मुद्धा अन्तर्गत कारबाही अगाडी बढाइयो
मलंगवा, २५ भदौ – अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक कुमार यादवमाथि राज्य विद्रोहको मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाइएको छ ।
यसअघि नै दर्ता भएको राज्य विद्रोहको मुद्धा अन्तर्गत जिल्ला अदालतबाट बुधबार ८ दिनको म्याद लिएर यादवविरुद्ध कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । यादवलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र खड्काका अनसार यादवविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर कारबाही प्रकृया अगाडी बढाइएको हो ।
गत असार १९ गते राति एसपी खड्का र यादवबीच ‘तँ तँ र म म’ सहित गालिगलौचको टेलिफोन संवाद बाहिरिएको थियो । लगतै राती प्रहरीले यादवको सलेमपुरस्थित घरमा छापा मार्दा जिल्ला प्रहरी कार्यालयको गाडीमा तोडफोड एवं केही सुरक्षाकर्मी समेत घाइते भएका थिए । फरार रहेकै अवस्थामा यादवले ‘जय बिहार, जय भारत, जय मधेश’ भन्दै आफ्ना विचारहरु सामाजिक संजालमा सार्वजनिक गरिरहेका थिए ।
उक्त घटनायता फरार रहेका यादव मंगलबार जेन–जी आन्दोलनका क्रममा सदरमुकाम मलंगवाको प्रदर्शनमा सहभागि भएका थिए । जेन–जी आन्दोलनका नाममा यादव स्वयंले नेतृत्व गरेर अराजकता निम्त्याउने प्रयास गरेकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यादवलाइ पक्राउ गरिएको विरोधमा जसपाका नेता कार्यकर्ताले सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् । उनिहरुले वंशल पेट्रोल पम्प छेउको प्रहरी बीटमा तोडफोडसहित आगजनी गरेका छन् भने आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरु समेत जलाइदिएका छन् ।