महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०९ फागुन – लालबन्दी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो लालबन्दी महोत्सव फागुन २३ गतेबाट सुरु हुने भएको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीले आज पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो लालबन्दी महोत्सवको औपचारिक घोषणा गरेको हो । “आर्थिक समृद्धि र स्वरोजगारको आधार – कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नारासहित फागुन २३ गतेदेखि चैत ४ गतेसम्म महोत्सव आयोजना गर्ने गरी तयारी अघि बढाइएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिए ।
बजार चलायमान बनाउने, आन्तरिक उत्पादनको प्रचारप्रसार गर्ने, कृषि, उद्योग, व्यापार, घरेलु तथा लघु उद्यमको बजार प्रवद्र्धन गर्ने, स्थानीय परम्परागत कला साहित्य र लोक सँस्कृतिको गर्ने र नगरभित्रका धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बलाम्पाकीले पत्रकार सम्मेलनमा बताए ।
महोत्सवमा १५० वटा स्टल रहने आयोजकले जनाएको छ । स्थानीय उत्पादनलाई निःशुल्क स्टल प्रदान गरिने महोत्सवका संयोजक एवं उद्योग वाणिज्य संघ लालबन्दीका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद चौलागाईले बताएका छन् ।
गत वर्ष पहिलो लालबन्दी महोत्सव लालबन्दी ६ स्थित राधाकृष्ण खेल मैदानमा आयोजना गरिएकोमा यो वर्ष भने भर्खरै उद्योग हटाइएको लालबन्दी ९ स्थित भूदेव खाद्य उद्योगको खाली जग्गामा लगाइने भएको छ । गत वर्ष पहिलो पटक शान्ति नेपाल नामक संस्थालाई महोत्सवको मुख्य जिम्मेवारी दिएको उद्योग वाणिज्य संघ लालबन्दीले यो वर्ष भने आफै महोत्सव आयोजना गर्न कस्सिएको छ ।
महोत्सवको करिव एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका महासचिव रामप्रसाद देवकोटाले बताएका छन् । ११ दिनसम्म महोत्सव आयोजना गर्न ७२ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
महोत्सव आयोजना गर्न लालबन्दी नगरपालिकाबाट नौ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ भने टिकट बिक्रीबाट २५ लाख ५० हजार रुपियाँ, स्टल बुकिङबाट १६ लाख रुपियाँसहित प्रायोजक, सह–प्रयोजकलगायत विभिन्न क्षेत्रबाट आम्दानी तथा सहयोग प्राप्त हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ । महोत्सवमा यो वर्ष मधेश प्रदेशस्तरीय नृत्य र गायन प्रतियोगिता समेत आयोजना गरिएको छ । नृत्य र गायन दुवै प्रतियोगितामा प्रथम हुनेलाई जनही एक लाख रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई ८० रुपियाँ, महोत्सव अवधिभर फोटोसहित विशेष सःशुल्क पास ४०० रुपियाँ, अपाङ्ग, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० रुपियाँ टिकट दर निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महोत्सवमा ११ दिनसम्म नै दैनिक राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन् ।