logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

असहाय अनि अशक्तलाई निःशुल्क सेवा दिने मुख्य न्यायाधिवक्ताकाे प्रतिवद्दता


  • उज्यालो अभियान

पानसमा बत्ति बालेर कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा, असार २४ – सर्लाही सदरमुकाम मलंगवामा समुदायमा मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम सम्पन्न भएकाे छ ।

आईतबार दिउँसाे नेपाल बार एशाेसियशन सर्लाहीकाे सभाहल मलंगवामा आयाेजित संवाद कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा मधेश प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले प्रदेश भरिका हरेक जिल्लामा १-१ जना  प्रदेश कानून अधिकृत/सहायक अधिकृत नियुक्त गरि असहाय तथा असमर्थ नागरिकलाई नि:शुल्क प्रदान गरिने कानूनी राय सल्लाह, अड्डा अदालतमा गरिने बहस पैरबी, लेखापढी वा कानूनी कारबाहीका सम्बन्धमा उपलब्ध गराउने विभिन्न प्रकारका सेवा सुविधा बारेमा जानकारी गराईएकाे थियाे । कानूनी सहायता अधिकृतले असहाय एवं अशक्त सेवाग्राहीकाे बहस पैरबी गर्ने, लिखत तयार पार्ने, परामर्श सेवा प्रदान गर्ने र कारगारमा रहेका थुनुवा वा बन्दीलाई कानूनी सेवा प्रदान गर्ने लगायत सेवा सुविधा नि:शुल्क प्रदान गर्ने मुख्य न्यायाधिवक्ता ठाकुरले दाबी गरे । सर्लाहीमा यस्ताे सेवा निःशुल्क लिन चाहने सेवाग्राहीले ९८५४०२१३१६ मा सम्पर्क गर्न सकिने समेत कार्यक्रममा जानकारी गराईएकाे छ ।

संघियता स्थापना भएकाे छैठाैं वर्षमा आएर मात्र बल्ल प्रदेश सरकारकाे तर्फबाट कानूनी सहायताका बारेमा जिल्ला स्तरमा अभिमुखिकरण गराउने काम गरेकामा धन्यवाद प्रकट सहित व्यंग्य समेत गरे । महिला अधिकारकर्मी बनिता कार्कीले यस्ताे सेवा सुविधाका बारेमा पालिका लेवलमा प्रचार प्रसार गर्दै न्यायिक समिति लगायत पालिकाका अन्य विभिन्न सराेकारवालाहरुलाई समेत सुसूचित गराईनु पर्ने खाँचाे रहेकाे औंल्याईन् ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पानसमा बत्ति बालेर उद्घाटन गरिएकाे संवाद कार्यक्रममा जिल्ला न्यायाधिश कवि प्रसाद न्याैपाने, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकी, गाेडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार राय, जिल्ला उपन्यायाधिवक्ता कैलास दाहाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।