हरिवन – भारतीय सुरक्षाकर्मीकाे ईन्काउन्टरमा सर्लाहीका दुईजना युवाकाे मृत्यु भएकाे खबर बाहिर आएकाे छ ।
भारतीय संचारमाध्यमहरुमा प्रकाशित समाचार अनुसार भारत पूर्वी चम्पारणकाे घाेडासहन थाना क्षेत्रमा सुरक्षाकर्मीकाे गाेली लागेर लालबन्दी नगरपालिका-२, पुनर्बास निवासी दुईजना युवाकाे मृत्यु भएकाे हाे । घटना विवरण अनुसार आईतबार राती डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच दाेहाेराे भिडन्त भएकाे थियाे । डकैती हुदैछ भन्ने खबर पाएर घटनास्थल पुगेकाे सुरक्षाकर्मीकाे टाेलीले घेरा हालेपछि लुटेरा समूहले गाेली प्रहार गरेकाे बताईएकाे छ । गाेली लागेर ३ जना भारतीय सुरक्षाकर्मी गम्भीर घाईते भएका छन् ।
लगतै जवाफी कार्बाही स्वरुप भारतीय सुरक्षाकर्मीकाे गाेली लागेर डकैती समूहका दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे भारतीय संचारमाध्यमहरुमा उल्लेख छ । मृत्यु हुनेहरुमा सर्लाही लालबन्दी नपा-२, पुनर्वासका २ युवा रहेकाे बताईएपनि स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी रहेकाे छ । भारतीय सुरक्षाकर्मीकाे दाबी अनुसार फरार हुन सफल डकैती समूहका अन्य डेढ दर्जन युवाहरु नेपालतर्फ भागेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले भारतीय सुरक्षाकर्मीकाे कार्बाहीमा सर्लाहीका दुईजनाकाे मृत्यु भएकाे खबर सुनिएपनि आधिकारिक रुपमा थाहा नभएकाे बताए । ´अनाैपचारिक रुपमा खबरहरु सुनिएपनि, आधिकारिक रुपमा थाहा भएकाे छैन ।` डीएसपी पंजियारले उज्यालाे अभियानसँग भने ।