logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

सर्लाहीमा ‘मिटर ब्याजी’ विरुद्ध १४ सय ७२ वटा उजुरी, फेरि एक साता मयाद थप


  • उज्यालो अभियान

गत वैशाख २० गते सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अनुचित लेनदेन अर्थात मिटर व्याज सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरि बहादुर कार्की, सदस्य उत्तमराज सुवेदी, प्रजिअ ईन्द्रदेव यादव लगायत सरोकारवालाहरु ।

मलंगवा – सर्लाहीमा मिटरब्याजीविरुद्ध हालसम्म १४ सय ७२ वटा उजुरी परेको छ । आईतबारसम्म जिल्ला प्रशासन कार्यालय मलंगवामा उक्त उजुरीहरु परेको हो ।

उजुरी अझै बढ्न सक्ने भन्दै पुनः एक हप्ता समय थप गरिएकाे छ । मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोगले नै उजुरी लिने म्याद जेठ १४ गतेसम्म थप भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । सर्लाहीका मिटरब्याजी पीडित कोही उजुरी दिन छुटेको भए जेठ १४ गतेसम्म कार्यालयमा आएर उजुरी दिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । यसअघि जेठ १ गतेदेखि ७ गतेसम्म पहिलो पटक एक साता म्याद थप भएको थियो ।

पीडितले निरन्तर उजुरी दिइरहेकाले थप उजुरी आउन सक्ने ठानेर एक साता म्याद थप भएको हो । सहायक प्रजिअ घिमिरेले पीडितहरु निरन्तर उजुरी लिएर आइरहेका र अब अन्तिम पटक १ साता म्याद थप गर्दा २ हजार जति उजुरी पुग्ने अनुमान गरिएको बताए । मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाउने गरेको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितहरु जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पुगिरहेका छन् ।
पछिल्ला वर्षमा मिटरब्याजी पीडितले आन्दोलन गर्न थालेपछि उनीहरुको पीडा बाहिर आइरहेको छ ।

सर्लाहीमा पनि मिटरब्याजी पीडितले पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । त्यही आन्दोलन र उजुरीपछि यहाँका ‘मिटरब्याजी’ आराेपी श्याम परदेशी, संजय रौनियार र रामबाबु यादव जिल्ला अदालतकाे आदेश अनुसार कारगार चलान भएका थिए । यादव र राैंनियार उच्च अदालतकाे आदेशले छुटिसकेका छन् भने परदेशी कारागारमै छन् ।

अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी जाँचबुझ आयोगले गत वैशाख २० गते सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय मलंगवामा सरोकारवालाहरुसँग अन्तरक्रिया सहित प्रारम्भिक जानकारी लिने र आवश्यक सल्लाह सुझाव संकलन गरेको थियो । मधेश प्रदेशको राजधानी जनकरपुरधाममा आयोगको कार्यालय स्थापना भएपश्चात आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी उक्त दिन सर्लाही आएर मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग मलंगवामा छलफल गरी प्रारम्भिक अवस्था बुझेर फर्किएका थिए । सर्लाहीमा आयोग गठन हुनु पूर्व नै मिटरब्याज साहुविरुद्ध ६८० भन्दा बढी उजुरी परेका थिए ।