हरिपुर, २४ कात्तिक – सर्लाहीको हरिपुरमा आयोजित वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नवबुद्ध युवा क्लब हजारबिघाले जितेको छ।
फाइनल खेलमा हरिपुर–७ चिताइनलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै आयोजक क्लबले उपाधि हात पारेको हो।
निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो .
पेनाल्टीमा आयोजक नवबुद्ध युवा क्लबले २ गोल गर्दा चिताइनले १ गोल मात्र गर्न सकेको थियो।
आयोजक क्लबका आसिफ शेखले पेनाल्टीमार्फत गोल गरेका हुन।
खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। दोस्रो हाफमा भने पाँच मिनेटको अन्तरालमा दुवै टिमले एक–एक गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए।
कात्तिक १८ गतेदेखि हरिपुर १ को पाँचकुमार खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा हरिपुर नगरपालिकाभित्रका १० वटा टिमले भाग लिएको आयोजक नवबुद्ध युवा क्लबका अध्यक्ष रविन लामाले जानकारी दिए।
उपाधि विजेता हरिपुर–१ हजारबिघास्थित नवबुद्ध युवा क्लबले ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता हरिपुर–७ चिताइनले १५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
विजेता तथा उपविजेता टिमलाई हरिपुर नगरपालिका–१ का वडाध्यक्ष नानीबाबु थापा र क्लबका अध्यक्ष रविन लामाले पुरस्कार वितरण गरेका थिए।
नवबुद्ध युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगितालाई हरिपुर नगरपालिका वडा नम्बर १ ले आर्थिक सहयोग गरेको थियो।