लालबन्दी, २२ कात्तिक – सर्लाहीको लालबन्दी बजारबाट चुरे क्षेत्रको विकट गाउँहरु हुँदै सिन्धुलीको मरिणसम्म बस सञ्चालनमा आएपछि स्थानीय वासिन्दालाई सहज भएको छ ।
खोलाको बगर र चुरेपाखामा बाटो बनाएर लालबन्दी–परवानीपुर–बडिमुहान–मरिणछाप तथा लालबन्दी–पत्थरकोट–नारायणखोला–मरिण रुटमा करिव चार महिनापछि बस गुडाउन थालिएको हो । असारको पहिलो साता बाढी आएर खोलाको बाटो बगाएपछि बस गुडाउन छाडिएको थियो ।
चार महिनासम्म स्थानीयहरु पैदल हिँडेर तथा मोटरसाइकल, ट्याक्टर लगायतमा मुस्किलले आउजाउ गरे । लालबन्दी–परवानीपुर–बडिमुहान–मरिणछाप रुटमा नियमित बस सञ्चालन भएसँगै परवानीपुरको चुरेवर्ती क्षेत्र र सिन्धुलीको मरिणका स्थानीयलाई लालबन्दी बजारसम्म आउजाउ गर्न सहज भएको छ ।
प्रमुख चाडपर्वका बेला यात्रुबाहक बसले लालबन्दीदेखि मरिणसम्म खचाखच यात्रु ओसारपसार गर्न थालेका छन् । बस व्यवसायी कर्ण घिसिङले चार महिनापछि बस चलेको र चाडबाडको बेलासमेत भएकाले यात्रुको चाप असाध्य रहेको जानकारी दिए ।
लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलका अनुसार यातायात व्यवसायी आफैले बाटो मर्मत गरेर बस सञ्चालनमा ल्याएका हुन् । बर्खामा बाढी आएर बगाउने खोलाको बाटो हिउँद लागेपछि जेसिबी लगाएर मर्मत गरी बर्सेनि यसैगरी बस गुडाउने गरिएको छ ।
शीर कालिन्जोर र सिन्धुलीको मरिणतर्फ व्यवसायी आफैले बाटो मर्मत गरे पनि चाडपर्वपछि बोहोरेडाँडा क्षेत्रको बाटो भने वडा कार्यालयले समेत मर्मत गर्ने वडाध्यक्ष बलले बताए । चार महिनापछि बस गुड्न थालेसँगै चुरेभेगको विकट गाउँका स्थानीयलाई लालबन्दी बजारसम्म दैनिक उपभोग्य वस्तु किनमेलसहित औषधि उपचार गर्न, वडा तथा पालिकाको कार्यालय आउन र गाउँमा उत्पादन भएका कृषि उपज बेच्न ल्याउन सजिल भएको छ ।
यस्तै लालबन्दी–नारायणखोला–मरिण रुटमा पनि नियमित बस सञ्चालनमा आएको बस व्यवसायी एवं लालबन्दी–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिए । नारायणखोलातर्फ खोलाको बाटो यातायात व्यवसायीले र पत्थरकोटदेखि घुमाउनेसम्म चुरेपाखाको बाटो वडा कार्यालयले मर्मत गरेका हुन् ।
वडाध्यक्ष घिसिङका अनुसार मटरखोला–कामिटार तथा तोरीबारी–मोथ्थे क्षेत्रमा बस सञ्चालन गर्न मिल्ने गरी बाटो तयार पारिएको छ । यो वर्ष डाइनीखोलातर्फको बाटो भने वडा कार्यालयले मर्मत नगर्ने भएको छ ।
अहिले हिउँदमा बाटो बनाए पनि बर्खामा बाढी आएर बगाउँदा भुक्तानी लिनै समस्या पर्ने भएकाले डाइनीखोलातर्फको बाटो मर्मत गर्न कठीन रहेको वडाध्यक्ष घिसिङको भनाइ छ । बाटो मर्मत नहुने भएपछि डाइनीखोलातर्फका स्थानीय हिउँदमा समेत लालबन्दी बजार आउनुपर्दा लालबन्दी–नारायणखोला–मरिण रुटमा चल्ने बस चढ्न मटरदोभानसम्म एक घण्टा बढी पैदल हिँड्नुपर्ने भएको छ ।
बस सञ्चालन नहुञ्जेल नारायणखोला, शीर कालिन्जोर, पिपलदमारलगायत क्षेत्रमा ट्याक्टर, बोलेरोलगायतले जोखिमपूर्णरुपमा लालबन्दी बजारदेखि खाद्यान्न तथा यात्रु ल्याउने, लैजाने गरिरहेका छन् । यस्तै चुरेभेगको विकट क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा लालबन्दी बजारदेखि बाँके खोलाको बगर भएर दैनिक चार÷पाँचवटा बोलेरो गाडीले यात्रु ओसारपसार गरिरहेका छन् ।
सडक नपुगेको र भौगोलिक रुपमा दुर्गम चुरेको पाखामा बस्ती रहेका जिल्लाको उत्तरी भेगमा खोलाको बगरबाट मोटरसाइकल, बोलेरो, ट्याक्टर र सिमित मात्रामा चल्ने बसले हिउँदभर यात्रु ओसारपसार गर्ने गरेका छन् ।