logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

बागमतीमा घट्न थाल्यो बाढी


  • उज्यालो अभियान

नवराज अधिकारी/बागमती, १० असोज – सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा बाढी घट्दै गएको छ ।

मौसममा सुधार आएर पानी पर्न कम भएसँगै बागमती नदीमा बाढी घट्न थालेको हो । जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरका अनुसार आज बिहान ७ बजेको मापनअनुसार बागमतीमा पानीको सतह ३.६५ मिटर मापन भएको छ । यसअघि हिजो बेलुका ५ बजेको मापनमा बागमतीको जलसतह ४.६० मिटर पुगेको थियो । बागमतीमा जलसतह ६ मिटर पुगे खतरा मानिन्छ । आज बिहानदेखि भने बाढी घट्दै गइरहेको गेज रिडर मगरले बताए ।

भारी वर्षाको पूर्वानुमानपछि बागमती नदीस्थित बागमती ड्यामका सम्पूर्ण ३६ वटै ढोका निरन्तर रुपमा खोलिएको बागमती सिँचाई आयोजनामा कार्यरत विनोद पासवानले जानकारी दिए । उनका अनुसार ड्यामका सबै ढोका खोलेर सर्लाही तथा रौतहट दुवैतर्फको नहरका ढोका भने बन्द गरिएको छ ।

बागमतीसहित सर्लाहीमा लखन्देही, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा सामान्य बाढी आइरहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिल्लाभरको अवस्था सामान्य रहेको जानकारी दिए । सिडिओ सुवेदीसहितको टोलीले हिजो दिनभर बागमती नदी तटीय क्षेत्रसहित विभिन्न भू-भागको निरीक्षण गरेको थियो ।