(तस्बीर : रोशनकुमार न्यौपाने/उज्यालो अभियान)
लालबन्दी, ०७ असोज – नेपाली कांग्रेस सर्लाहीमा १५ औँ महाविधेशनको राप देखिएको छ ।
नेताहरु वडा अधिवेशन सकेर पालिका अधिवेशनमा केन्द्रित भएका छन् । सर्लाहीमा क्षेत्र नं. २ बाहेक अन्य तीनवटा निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण किसिमले वडा अधिवेशन सम्पन्न गरी आजबाट पालिका अधिवेशन प्रारम्भ गरिएको हो ।
कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले क्षेत्र नं. १, ३ र ४ मा पालिका अधिवेशन प्रारम्भ भएको जानकारी दिए । पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि नेताहरुले छलफललाई निरन्तरता दिइरहेका छन् ।
पार्टीका जिल्ला सचिव कार्कीले गाउँपालिका तथा नगरपालिकामा कार्य समिति चयनका लागि आज उद्घाटन सत्र सकेर दिनभर सहमतिको प्रयास गरिने र सहमति हुन नसके भोली बिहीबार मतदानमार्फत नेतृत्व चयन गरिने बताए । केही पालिकामा सर्वसम्मत रुपमै नेतृत्व चयन हुन थालिसकेका छन् ।
आज गाउँ अधिवेशनबाट बसबरियामा लालबाबु महतो र चन्द्रनगरमा श्याम सिंह सभापति रहने गरी सर्वसम्मत रुपमा पालिकास्तरीय समिति चयन गरिएको छ । बारम्बार छलफल गर्दा पनि सहमति हुन नसकेपछि लालबन्दीमा भने कांग्रेसको नगर समिति चयन गर्न भोली मतदान नै गर्ने निर्णय भएको छ । मतदानमा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् ।
क्षेत्र नं. २ मा अझै किचलो
क्रियाशील सदस्यता विवादका कारण सर्लाहीको क्षेत्र नं. २ मा भने वडा अधिवेशन नै हुन सकेको छैन् ।
कांग्रेस सर्लाहीका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारले क्षेत्र नं. २ को विवाद समाधानका लागि केन्द्रबाटै आएको टोलीसँग जनकपुरमा बारम्बार छलफल भइरहेको बताए । क्षेत्र नं. २ मा क्रियाशील सदस्यताको विषयलाई लिएर पूर्व जिल्ला सभापति नागेन्द्र कुमार र लक्ष्मण राय पक्षबिच विवाद हुँदा वडा अधिवेशनधरी हुन नसकेको हो ।
क्षेत्रीय सभापति कौशलकिशोर रायले क्षेत्र नं. २ लाई महाधिवेशनबाट बञ्चित गर्ने प्रयास भए पनि त्यो सफल हुन नदिने बताए । उनले तत्कालै वडा, पालिका र क्षेत्रको अधिवेशन गराउन सहमतिको प्रयास भइरहेको बताएका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशले यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा तोकिएको छ । केन्द्रीय अधिवेशनअघि अहिले सर्लाहीसहित प्रत्येक जिल्लाहरुमा वडा, पालिका र क्षेत्रीय अधिवेशनको सरगर्मी देखिएको हो ।