मलंगवा, ०४ भदौ – नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नाघिसक्दा सर्लाहीका कुनै पनि पालिकाको खाता संचालन हुन सकेको छैन् ।
पालिकाले अघिल्लो आर्थिक वर्षको हरहिसाब मिलान गरी चालु आर्थिक वर्षको गाउँ तथा नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम स्थानीय सन्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा इन्ट्री गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयमा कागजात प्रस्तुत गरेपछि खाता संचालन हुने व्यवस्था छ । कोलेनिका सर्लाहीका अनुसार जिल्लाका २० पालिकामध्ये बागमती नगरपालिकाले बुधबार र बसबरिया गाउँपालिकाले दुई दिनअघि मात्र खाता संचालनका लागि निवेदन दिएका छन् ।
सर्लाहीका प्रमुख कोष नियन्त्रक पदमप्रसाद पौडेलले दुईवटा बाहेक अन्य पालिका सम्पर्कमा नआएका बताएका छन् । प्रायः दशैँअघि मात्र कर्मचारीहरुको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता निकासा गर्ने गरी पालिकाहरुले खाता संचालनमा ल्याउने परिपाटी रहेको उनले बताए ।
पालिकाको खाता संचालनमा ढिलाइ हुँदा प्रशासनिक, विकास निर्माण र सेवा प्रवाहमा असर गर्ने गरेको छ । खाता संचालन नभएर बजेट खर्च गर्न नपाए पनि पालिकाहरुले आन्तरिक राजस्व संकलनको काम भने नियमित नै गरिरहेका छन् ।
मलंगवा नगरपालिकाका उपसचिव होमनाथ सुवेदीले गत वर्षको हरहिसाब सूत्रमा इन्ट्री गर्नै बाँकी रहेको बताए । कर्मचारी बिदामा बसेकाले ढिलाइ भएको उनले बताए ।
कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दासले पालिकाको खाता सञ्चालनका लागि यो महिनाभर लाग्ने जानकारी दिए । सर्लाहीमा अहिले प्रायः प्रशासन, लेखा, योजनालगायत शाखाका कर्मचारी हिसाबकिताब मिलानमै ब्यस्त छन् ।
जिल्लाका २० वटै पालिकामा अहिले आर्थिक अधिकारसहितका प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । ब्रह्मपुरी र बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा भर्खरै शाखा अधिकृतहरु हाजिर भएका छन् ।