नारायणखोला, ०४ भदौ – ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई मानिस पक्राउ परेका छन् ।
उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, डाइनीखोलाबाट ७४३ केजी ९८० ग्राम गाँजासहित स्थानीय ६७ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ पक्राउ परेका छन् ।
दुवै जनालाई म्याद थपका लागि सदरमुकाम मलंगवा लैजान लागिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।
घरमा गाँजा लुकाएर राखिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले नरबहादुर र जेसुनमायाको घरमा ड्रम तथा बोराभित्र लुकाइराखिएको गाँजा बरामद गरेको हो । प्रहरी टोलीले सो स्थानमा मकैबारीभित्र दुई कठ्ठामा रहेको गाँजाको बेर्नासमेत नष्ट गरेको छ ।
सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलास्थित डाइनीखोलामा गाँजा बरामद गर्न प्रहरी टोली दुईवटा ट्याक्टर चढेर पुगेका थिए ।
सडक नपुगेको त्यस ठाउँमा बाढी आएर खोलाबाट गाडी जान नसकेपछि प्रहरीहरु गाँजा बरामदका लागि ट्याक्टर चढेर पुगेका हुन् ।
प्रहरीले बारम्बार नारायणखोलाबाट गाँजा बरामद गर्ने र गाँजाको खेती नष्ट गर्ने गर्दै आइरहेको छ । भौगोलिक हिसाबले विकट रहेको यस ठाउँका स्थानीयले प्रहरीको उपस्थिति नहुने भएकाले राम्रो आम्दानी हुने आससहित व्यावसायिक रुपमा गाँजा खेती गर्दै आइरहेका छन् ।
गाँजा खेतीबाट नारायणखोलासहित सर्लाहीको चुरेभेगका स्थानीयले राम्रो आम्दानी गर्दै आइरहे पनि नेपालको विद्यमान कानूनले गाँजालाई अवैध खेती र लागुऔषध मानेको छ ।