logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

सर्लाही पूर्णखोप सुनिश्चितता घोषणा


  • उज्यालो अभियान

मलंगवा, २७ असार – सर्लाहीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

सदरमुकाम मलङ्गवामा जिल्ला खोप समन्वय समिति सर्लाहीका प्रमुख एवं जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको अध्यक्षता तथा मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्र साहको प्रमुख आतिथ्यतामा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । जिल्लाभर १६ महिनादेखि २३ महिनासम्मका १३ हजार २०७ जना बालबालिकाको घरधुरी सर्भेक्षण गर्दा सम्पूर्ण बालबालिकाले १५ महिनाभित्र प्राप्त गरिसक्नुपर्ने खोप प्राप्त गरेको पाइएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए ।

उनका अनुसार गएको मङ्सिरदेखि फागुन महिनासम्म जिल्लाभरको २० वटा पालिकाका २०० वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी बालबालिकाको विवरण लिइएको थियो । त्यसक्रममा खोप लगाउन छुटेका बालबालिकालाई बैशाख महिनामा आवश्यक खोप लगाएर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

सुरुमा वडा, त्यसपछि पालिका र २० वटै पालिका पूर्णखोप सुनिश्चितता घोषणा भएपछि आज जिल्लालाई नै घोषणा गरिएको हो । उक्त समारोहमा जिल्लाका ११ नगरपालिकाबाट एक जना स्वास्थ्यकर्मी र नौ गाउँपालिकाबाट एक जना महिला स्वयंसेविका गरी उत्कृष्ट काम गर्ने २० जना छनौट गरी नगद तीन हजार रुपियाँसहित सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्यमन्त्री नागेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई अझ उत्कृष्ट ढङ्ग र जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे ।