मनिषबहादुर बुढाथोकी/लालबन्दी, ३० फागुन – किसानको खेतमा उखु सकिँदै जान थालेसँगै तराईका चिनी मिलहरु बन्द गर्ने तयारी गरिएको छ ।
सर्लाहीका तीनवटा चिनी मिलको उखु यार्ड अर्थात् उखु बोकेर आउने ट्रक र ट्याक्टर राख्ने ठाउँ खाली हुँदै गएका छन् । अब हप्ता÷दस दिनभित्र सर्लाहीसहित तराईका अधिकांश चिनी उद्योगले उखु क्रसिङ बन्द गर्ने तयारी गरेका छन् ।
महालक्ष्मी चिनी उद्योग बगदहका प्रशासकीय प्रमुख शिवशङ्कर महतोले अब बढीमा दस दिनभित्र मिल बन्द गरिने जानकारी दिए । “११ लाख ८५ हजार क्विन्टल उखु क्रसिङ गरिसक्यौँ,” महतोले भने, “अब त उखु आउनै कम भइसकेको छ । बढीमा दस दिनजति मिल चलाएर बन्द गर्ने तयारी गर्दै छौँ ।”
अब किसानका लागि सूचना जारी गरी उखु बाँकी रहेको भए तत्काल मिलमा ल्याउन आग्रह गर्ने तयारी रहेको प्रशासकीय अधिकृत महतोले बताए । दुई साताअघि भरिभराउ रहेका चिनी मिलको उखु यार्डमा अहिले सिमित मात्रामा ट्रक र ट्याक्टर देखिन्छन् ।
धनकौल गाउँपालिका–२, का किसान रामकल्याण यादवले गाउँमा रहेको अन्नपूर्ण चिनी उद्योगमा उखु ल्याउने किसान घटिरहेका जानकारी दिए । चुनावभन्दा पहिले मिल अगाडिको सडकसम्म नै उखु बोकेका ट्रक, ट्याक्टर र टायरको लाइन भए पनि अहिले खाली भइसकेको यादवले बताए ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनले भने अहिलेसम्म पर्याप्त उखु आइरहेको जनाएको छ । उद्योगका उखु प्रवन्धक योगनारायण रजकले अझै दुई हप्ताजति मिल चल्ने दाबी गरेका छन् ।
८४ दिन चलिसकेको इन्दुशङ्करले २३ लाख ७५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उखु प्रवन्धक रजकले बताए । “कम्तीमा पनि १२० दिनजति फ्याक्ट्री सञ्चालन गर्न सकिन्छ कि भन्ने छ,” उखु प्रवन्धक रजकले भने,“किसानले उखु ल्याइरहे भने त चैतभर नै उखु पेल्न तयार छौँ ।”
उखु क्रसिङ अन्तिम चरणमा पुर्याएका चिनी उद्योगहरुले किसानलाई तालिका बनाएर क्रमिकरुपमा भुक्तानी गरिरहेको बताएका छन् । यो वर्ष उद्योगीले ६२० रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने भनी गएको मंसिर २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मुल्य निर्धारण गरेको थियो ।