हरिपुर, ३० फागुन – मधेश प्रदेश विद्यालयस्तरीय यू–१४ फुटबल प्रतियोगितामा छात्रतर्फ आइडिएल को–एड एकेडेमी लालबन्दी सर्लाही पहिलो बनेको छ ।
आज हरिपुर नगरपालिका ७ चिताइनस्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा माध्यमिक विद्यालय हात्तीलेट महोत्तरीलाई २–१ ले पराजित गर्दै आइडिएल बिजेता बनेको हो । प्रतियोगितामा छात्रातर्फको उपाधि बाल निकेतन एकेडेमी चन्द्रनिगाहपुर रौतहटले जितेको छ ।
एभरेष्ट एकेडेमी लालबन्दी सर्लाहीलाई टाइब्रेकरमा ३–२ ले पराजित चन्द्रनिगाहपुर बिजेता बनेको हो । प्रतियोगिताको फाइनलमा प्रवेश गरी बिजेता तथा उपबिजेता भएका चारवटै टिमले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको यू–१४ फुटबल प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको फुटबल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
चिताइनमा सम्पन्न मधेश प्रदेशस्तरीय छनौट प्रतियोगितामा प्रदेशका आठै जिल्लाबाट विभिन्न विद्यालयहरुले सहभागिता जनाएका थिए । बिजेता तथा उपबिजेता विद्यालयलाई आज आयोजक मधेश प्रदेश फुटबल सङ्घका अध्यक्ष नेपाल कार्की, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारलगायत भएर शिल्ड, मेडल तथा प्रमाण–पत्र वितरण गरेका छन् ।