बागमती, २१ माघ – दोस्रो जिरायत कप फुटबल प्रतियोगिताको उपाधि सयपत्री सामुदायिक युवा केन्द्र महोत्तरीले हात पारेको छ ।
सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा सम्पन्न प्रतियोगितामा टुटेश्वर यूवा क्लब महोत्तरीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै सयपत्रीले उपाधि रक्षा गरेको हो । बिजेता सयपत्रीले उपाधिसहित नगद ७५ हजार रुपियाँ प्राप्त गरेको छ । उपबिजेता टुटेश्वरले भने ३० हजार रुपियाँमा चित्त बुझायो ।
प्रतियोगितामा सयपत्री सामुदायिक युवा केन्द्रका निरज जर्गा उत्कृष्ट प्रशिक्षक, सयपत्रीका सुदीप थारु उत्कृष्ट रक्षक, सयपत्रीकै विजय थारु उत्कृष्ट गोलरक्षक, आयोजक ओम यूवा क्लबका पुष्कर मगर उदयीमान खेलाडी, सयपत्रीका रामकृष्ण राउत सर्वोत्कृष्ट खेलाडी र आइडिएल को–एड एकेडेमी लालबन्दी उत्कृष्ट टिम घोषित भए ।
ओम यूवा क्लबले माघ १० गतेदेखि आयोजना गरेको जिरायत गोल्डकपमा मधेश प्रदेशको सर्लाही, महोत्तरी, रौतहट र बाराका १६ टिमले सहभागिता रह्यो ।