logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका ६ पालिकामा यसरी मनाइयो सोनाम ल्होसार (तस्बीरहरु)


  • उज्यालो अभियान

हरिवन, ०५ माघ – सर्लाहीका विभिन्न ६ वटा पालिकामा बसोवास गर्ने तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी धुमधामसँग मनाएका छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सोनाम ल्होसारको अवसरमा आज जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिपुर, हरिवन, बागमती र बरहथवामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका हुन् । नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले लालबन्दी १५ स्थित बोहोरेडाँडामा हर्षोउल्लासपूर्वक साँझ अबेर सोनाम ल्होसारको कार्यक्रम सम्पन्न गरेको समितिका अध्यक्ष शुक्रबहादुर पाख्रिनले जानकारी दिए ।

घेदुङकै आयोजनामा लालबन्दीमा त भोली माघ ६ गते सोनाम ल्होसार मनाउन भन्दै लालबन्दी नगरपालिकाले सार्वजनिक बिदा नै दिएको छ । यो पर्वको अवसरमा आज संघीय सरकारले देशभर छुट्टी दिएको थियो ।

बोहेरोडाँडासहित लालबन्दीको हीरापुर, बाहुनी, पत्थरकोट, नारायणखोला, परवानीपुर, देउरालीलगायत ठाउँमा सोनाम ल्होसारको अवसरमा कार्यक्रम भएका छन् । ईश्वरपुर नगरपालिकामा तामाङ समुदायको बसोवास रहेको घारिबथान, सागरनाथ, श्रीनगरलगायत क्षेत्रमा सोनाम ल्होसार मनाइएको छ ।

हरिवन नगरपालिकामा वडा नं. २ लालभित्तीमा शुभकामना आदानप्रदान तथा सांस्कृति कार्यक्रम गरी सोनाम ल्होसार मनाइएको हरिवन २ का वडाध्यक्ष अर्जुन योन्जनले बताए । हरिवनको सासापुर, घुर्कौलीलगायत ठाउँमा पनि सोनाम ल्होसार मनाइएको छ ।

हरिपुर नगरपालिका २ सानो जगतपुर खेल मैदानमा उल्लासका साथ पर्व मनाइएको स्थानीय अमृत घिसिङले जानकारी दिए । सोनाम ल्होसार मनाउन हरिपुर २ नं. वडा कार्यालयले ३ लाख रुपैयाँ बजेट नै प्रदान गरेको वडाध्यक्ष निलबिक्रम थापाले बताए ।

सोनाम ल्होसारको अवसरमा भोली बागमती नगरपालिकास्थित प्रशिद्ध पर्यकटकीयस्थल भरत ताल परिसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ बागमती नगर समितिका अध्यक्ष रोशन तामाङ दोङले बताए । उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

सोनाम ल्होसारको अवसरमा आज जिल्लाका छ पालिकामा आयोजित कार्यक्रमहरुमा सांसद, पालिका प्रमुख, राजनीतिज्ञलगायतको आतिथ्यता रहेको थियो । अधिकांश स्थानमा स्थानीय तामाङ गुम्बाहरु त्था कतिपय ठाउँमा खुल्ला चौरमा समेत सोनाम ल्होसार मनाइएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

सोनाम ल्होसारका दिन आज यहाँका सहर, बजार तथा गाउँघरमा समेत तामाङ समुदायको पहिचान झल्कने पहिरन लगाएर हिँड्नेहरु बाक्लै देखिन्थे ।