logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पचगछियामा माघी महोत्सव सुरु


  • उज्यालो अभियान

हरिपुर, ०२ माघ – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन पचगछियामा आजदेखि तीन दिने आठौं राष्ट्रिय तिला संक्रान्त (माघी महोत्सव) सुरु भएको छ ।

हरिपुर थारु कला संस्कृति आयोजना समितिले आयोजना गरेको महोत्सवको आज दिउँसो संविधान सभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटनअघि झाँकी, नृत्यसहित थारु समुदायको विभिन्न चिनारीहरु प्रस्तुत गर्दै हरिपुर बजार क्षेत्र परिक्रमा गरिएको छ ।

आयोजकका ललित चौधरीको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन समारोहमा निवर्तमान संघीय सांसद रामप्रकाश चौधरी, मधेश प्रदेश सभा सदस्य बेची लुंगेली र उर्मिला सिंह, हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पजियार, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, हरिपुरकी उपप्रमुख निलमदेवी राय, ईश्वरपुरकी उपप्रमुख रन्जितादेवी चौधरी, नेकपा एमालेकी नेतृ रन्जना सरकारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
पर्सीसम्म संचालन हुने महोत्सवमा थारु परिकारको प्रदर्शनी, नृत्य प्रतियोगितासहितको आकर्षण रहेको आयोजकले जनाएको छ । ‘

नेपाल आदिवासी जनजाति के सान, थारु कला संस्कृति हमर पहिचान’ भन्ने मूल नारासहित माघे संक्रान्तिको अवसरमा पचगछियामा वर्षेनि झैँ माघी महोत्सव आयोजना गरिएको हो ।

यही माघी महोत्सवकै अवसरमा हरिपुर नगरपालिकाले आज नगरभर सार्वजनिक बिदा नै दिएको थियो । महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा गएसाँझ दीप प्रज्वलनसमेत गरिएको आयोजकलाई उदृत गर्दै शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।