logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बरहथवामा भोली बिहान ८ बजेसम्म निषेधाज्ञा, घटनास्थलमा स्थानीयको भीडभाड बढ्दै


  • उज्यालो अभियान

युवकको गोली लागेर मृत्यु भएको पुल छेउछाउमा शनिबार बिहान भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर हिजो दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रर्दशनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज बिहान ८ बजेदेखि भोली बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले यसअघि हिजो बेलुका ५ः३० बजेदेखि आज बिहान ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज बिहान जारी गरेका सूचनामा निषेधाज्ञा आदेश शब्द उल्लेख गरिएको छ । कुनै पनि किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा एवं गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्स्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा लागु भएको बरहथवा बजार क्षेत्र तथा गोली लागेर मृत्यु भएका युवकको शव रहेको ठाउँमा फेरि बिहानदेखि विस्तारै भिडभाड बढ्न थालेको छ । मानिसहरु जम्मा भएर टायर बालेर प्रदर्शन गर्न थालेका छन् ।

हिजो दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव विभिन्न माग राखेर घटनास्थलबाट उठाउन दिइएको छैन् । प्रशासनले घटनाबारे आफूहरुसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने, मृतकको शालिक निर्माण गर्नुपर्ने, नगरप्रमुखले राजिनामा दिनुपर्ने, बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई निलम्बन गर्नुपर्ने लगायतको माग राखेर शव घटनास्थलमै राखिएको हो ।

अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हिजो दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो । साहले बरहथवा बजारमा होटल संचालन गर्थे ।

उनलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । साहको शव रातभर घटनास्थलमा रह्यो ।

याे पनि पढ्नाेस्

बरहथवा घटना : मृतक युवकको शव अझै घटनास्थलमा

बरहथवामा साँढे ५ बजेबाट कर्फ्यू

सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार