logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रहरी हिरासतमा आत्महत्या नै गरेकी हुन् त हजरतले ? को हुन् खातुन् ?


  • उज्यालो अभियान

टंक बहादुर क्षेत्री/मलंगवा, साउन ०९ – जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेकी चक्रघट्टा गाउँपालिका–८, औरही निवासी हजरत खातुनको मृत्युमा विभिन्न टिकाटिप्पणी भईरहेका छन् । प्रहरीले सलले घाँटीमा पासो लगाएको अवस्थामा देखेपछि तत्काल उद्धार गरि उपचार गर्दागर्दै ४० वर्षीया खातुनको मृत्यु भएको जनाएको छ भने महिला अधिकारकर्मीहरुले मृत्यु घटना शंकाष्पद रहेको भन्दै निश्पक्ष छानविन हुनुपर्ने माग गरिरहेका छन् ।

घटना भएका बखत जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले थूनामा राखेको कोठमासँगै रहेको सौचालयको ढोकामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा विहिबार राती १० बजेतिर देखेपछि खातुनलाई तत्काल उद्धार गरि उपचारका लागि नजिकैको प्रादेशिक अस्पताल लगिएको दाबी गरेका छन् । अस्पतालमा उपचार हुँदै गर्दा राती ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पंजियारले जानकारी दिए ।

यता महिला अधिकारकर्मी बनिता कार्कीले भने प्रहरी हिरासतमा रहेकी महिलाले आत्महत्या गरेको भनिएपनि घटना शंकाष्पद् रहेको दाबी गरिन् । ‘कानबाट रगत बगेको छ, पेटमा निलडाम जस्तो देखिएको छ’, कार्कीले यो पंक्तिकारसँग भनिन्, ‘त्यसैले मृत्यु घटना शंकाष्पद् छ, निश्पक्ष अनुसन्धान गर्नुपर्छ, पत्रकारहरुले पनि निश्पक्ष भएर लेख्नुपर्छ।’

प्रहरीको सीसीक्यामेरामा कैद भएको दृष्य यस्तो छ

प्रहरीले भने खातुनले आत्महत्या नै गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाको महिला थूनुवा कक्षको सीसी क्यामेराको रेकर्ड हेर्दा उक्त राती थूनुवा खातुन हिरासत कक्षको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीसँग गफिएर बसेको देखिन्छ । गफ गर्दागर्दै उनले डण्डीको बारको ढोकाको छेउमा बाहिरपट्टी राखेको सललाई बिस्तारै खुट्टाले तानेर आफ्नो नियन्त्रणमा लिएकी छिन् ।

त्यसपछि उनि सौचालय भित्र पसेको देखिन्छ । अनि महिला सुरक्षाकर्मी केही पर गएपछि क्यामेरामा उनलाई देखिँदैन भने खातुनले पनि सुरक्षाकर्मी भए नभएको ढोका छेउमा आएर हेर्छिन् । नजिकै कोही सुरक्षाकर्मी नभएको मौका पारेर पुनः सौचालय छिरेकी छिन् । खातुन धेरैबेर बाहिर ननिस्केपछि ढोकाबाट चिहाएर हेर्दा सुरक्षाकर्मीले केही देखे जस्तो गरेर हेर्नलाई अरु सुरक्षाकर्मीलाई बोलाएको जस्तो देखिन्छ । केहीछिनपछि सौचालयभित्रबाट खातुनलाई उद्धार गरी उपचारका लागि अस्पताल लैजान सुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् । प्रनाउ पंजियारका अनुसार खातुनले बाहिरबाट तान्न सफल सल उनकै भएको र थूनुवा कक्ष सुरक्षार्थ खटिएका सुरक्षाकमर्मीले नियन्त्रणमा लिएर डण्डीको बार छेउमै राखेका थिए ।

उनलाई शारिरिक वा अन्य कुनैपनि खालको यातना नदिईएको प्रनाउ पंजियारको दाबी छ । ‘भन्सारले पठाएकाले हाँमीले हिरासतमा राखेका हौं’, पंजियारले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘हाँमीले कहिल्यै नचिनेको अनि कुनै पनि एंगलले टच नभएको उहाँलाई किन त्यस्तो घटना गराउँथ्यौं होला र ?’ सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवलकिशोर झाले पोष्टमार्टम रिपोर्ट अनुसार खातुनको मृत्युको कारण ‘ह्याङ्गिङ’ नै भएको जानकारी दिए ।

को हुन् खातुन ?

चक्रघट्टा गाउँपालिका–८, औरही निवासी मोहम्मद तसबीर अन्सारीकी श्रीमति हुन् खातुन् । अन्सारी दम्पतिका ५ छोरा छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतार रहेका तसबीर गत वैशाख १२ गते बिदामा घर आएका थिए । उनका जेठा छोरा पनि कतारमै एउटै कम्पनीमा काम गर्छन् । अन्सारीका माईलो छोरा काठमाडौंमा काम गर्ने गरेको तथा घरमा श्रीमति सहित जेठी बुहारी र ३ वटा छोराहरु बस्ने गरेका थिए ।

५ महिने बिदामा आएका तसबीरले श्रीमति खातुन गाउँकै रामकेवल रायसँग अनैतिक सम्बन्धमा रहेको गाउँभरि हल्ला चलेको सुनेपछि स्थानीय औरही प्रहरी चौकीमा निवेदन दिएका थिए । ‘मैले प्रहरीमा निवेदन दिएको थिएँ जेठ १२ गते चौकीमा छलफल राखिएको थियो’, अन्सारीले उज्यालो अभियानसँग भने, ‘तर जेठ ११ गते राती नै मेरी श्रीमति भागिन् ।’ श्रीमतिले नगद ५ लाख तथा सुन एवं चाँदी समेत लिएर भागेको तसबीरको दाबी छ ।

तर गत साउन १ गते मलंगवाको झिलमिलिया माई नजिक श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैयाँ र ५ सय ७७ ग्राम चाँदी एवं थोरै सुनका गहना सहित सशस्त्र प्रहरीले खातुन र रामकेबललाई पकाउ गर्यो । उनिहरु भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेको अनुमान गरिएको छ । तथापी यसबारे स्पष्ट भने भईसकेको छैन ।

सुनचाँदी र नगद समेत बरामद् भएकाले दुवैजनालाई आवश्यक कार्बाहीका लागि सशस्त्र प्रहरीले भन्सार कार्यालय मलंगवामा पेश गरेको थियो । भन्सारले खातुनलाई ३ लाख ३९ हजार र रामकेबललाई २ लाख ५२ हजार धरौटी लिएर छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि साउन ४ गते विहिबार भन्सारले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको थियो ।

खातुनले सोही राती हिरासत कक्षकै सौचालयमा आत्महत्या गरेको प्रहरीको भनाई छ । खातुनले गर्ने क्रममा महिला सुरक्षाकर्मीसँग ‘अब त मलाई गोली हानेर मारेपनि हुन्थ्यो’ समेत भनेको बताईएको छ । शुक्रबार साँझ खातुनको शव उनका श्रीमान तसबीरलाई प्रहरीले बुझाएको थियो । तसबीरले आफ्नो रिति र परम्परा अनुसार शुक्रबार नै खातुनको दाहसंस्कार गरेका छन् ।

रामकेबल कारागार चलान

यता खातुनसँगै पक्राउ परेका रामकेबललाई भने सिन्धुली कारागार चलान गरिएको छ । भन्सार कार्यालयले तोकेको २ लाख ५२ हजार धरौटी रकम बुझाउन नसकेपछि रामकेबललाई सोमबार कारागार चलान गरिएको प्रनाउ पंजियारले जानकारी दिए । करिब ४० वर्षीय रामकेबल पनि विबाहित पुरुष हुन् ।