हरिवन – सर्लाहीका विभिन्न पालिकाहरुमा गरेर आज (मंगलबार) ८४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
गोडैता र बागमती नगरपालिका तथा पर्सा गाउँपालिकामा संक्रमित थपिएका हुन् । गोडैता नगरपालिकाका ४० जनालाई पोजेटिभ देखिएको छ । साउन २९ गते नै ४०२ जनाको स्वाब संकलन गरेर जनकपुर पठाईएकोमा हालसम्म ३८७ जनाको रिपोर्ट आएको र जसमध्ये आज ४० जनाको पोजेटिभ देखिएको हो । त्यसमध्ये दुई दिनअघि २९ जनामा पोजेटिभ देखिएको थियो । ४०२ जना मध्ये अब १५ जनाको रिपोर्ट आउन बाँकी रहेको बताईएको छ । यो सँगै गोडैतामा हालसम्म स्वाब संकलन गरेर परीक्षण गराएका मध्ये १५३ जनामा कोरोना भाईरस पोजेटिभ देखिई सकेको छ ।
त्यस्तै आज (मंगलबार) नै पर्सा गाउँपालिकाका ३४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । २३३ जनाको स्वाब संकलन गरेर पठाएकोमा आज ३४ जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ मध्ये ३३ जनाको नामक खुलिसकेको र १ जनाको भने नाम पहिचान हुन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर महतोले जानकारी दिए । पर्साबाट पठाईएको २३३ जना मध्ये अब ६ जनाको मात्र रिपोर्ट आउन बाँकी छ ।
त्यस्तै बागमती नगरपालिकामा पनि आजै (मंगलबार) आएको रिपोर्ट अनुसार १० जनामा पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्यक कार्यालयका कोभिड–१९ हेर्ने फोकल पर्सन सुशिल झाका अनुसार बागमती नगरपालिकाका १० जनामा पोजेटिभ देखिएको हो । बागमती नगरपालिकाले गत आईतबार ५२० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियो । बागमतीको रिपोर्ट धमाधम आउन थालेको छ ।
बागमती नगरपालिका स्वास्थ्य शाखाका पदम रायमाझीले भने आफूहरुलाई पोजेटिभ रिपोर्टको जानकारी नआएको बताए । ‘२५० जनाको रिपोर्ट प्राप्त भएकोमा कसैलाई पोजेटिभ देखिएको छैन’, रायमाझीले भने, ‘कहिलेकाँही पोजेटिभ सम्बन्धी रिपोर्ट सिधै जिल्लामा मात्र मेल जाने गर्दछ, सायद आज त्यस्तै भयो होला ।’