चक्रघट्टा, ०१ मंसिर – सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर आएर भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाको परिवारसँग भेट गरेका छन् ।
गत बिहीबार मकवानपुरको भीमफेदीमा हायस गाडी दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जना सुन्दरपुर गाउँका हुन् ।
सभामुख अर्यालले मृतकहरुको परिवारसँग घरघरमै पुगेर भेट गरेका हुन् । भेटको क्रममा मृतकको परिवारका सदस्यले सभामुख अर्यालसँग राहत रकम र घटनाको निष्पक्ष छानबिनको माग राखेका छन् ।
सभामुख अर्यालले राहत रकम तत्काल प्राप्त गर्ने व्यवस्थाका लागि समन्वय गर्ने आश्वासन दिएर गएका छन् । मृतकका परिवारसँग सभामुख अर्यालसँगै प्रतिनिधि सभा सदस्यहरु नीतिमा भण्डारी कार्की, रवीन महतो, नरेन्द्र साह, सरिता महतो, रहबर अन्सारीलगायतले पनि भेट गरेका छन् ।