लालबन्दी, ०९ कात्तिक – ऋणीले एनआइसी एशिया बैंकबाट पीडित भएको भन्दै लालबन्दीमा पत्रकार सम्मेलन गरेर गुनासो व्यक्त गरेका छन् ।
२०७७ सालमा उक्त बैंकबाट ४ करोड ९५ लाख ऋण लिएका लालबन्दी नगरपालिका ९ डुमडुमे निवासी शत्रुधन महतोले सम्झौता विपरीत महिनामा चार पटक ब्याज बढाइएको, जवरजस्ती क्रिडिट कार्ड जारी गराइएको आरोप लगाएका छन् ।
उनले साढे तीन वर्षमा १ करोड ८० लाख रुपैयाँ ऋण बुझाए पनि २०८० सालपछि आर्थिक स्थिति खराब भएर ऋण तिर्न नसकेको र त्यसपछि बैंकले अनेक तनाव तथा झन्झट दिइरहेको पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।
एनआइसी एशिया बैंकबाटै ३ करोड ३७ लाख ऋण लिएका लालबन्दी नगरपालिका ११ हिरापुरका रामचन्द्र महतोले पनि ८ प्रतिसत ब्याजमा ऋण लिए पनि पछि १६ प्रतिसतसम्म बढाएपछि ऋण तिर्न नसकेको सुनाए ।
बैंकबाट पीडित भएको भन्दै ऋणीहरुले जिल्लामा तथा संघीय राजधानी काठमाडौँ पुगेर बारम्बार पत्रकार सम्मेलन गरेर अनेक आरोप लगाउन थाले पनि बैंकको भने आधिकारिक धारणा सार्वजनिक भएको छैन् ।