logo
  • सोमवार, कार्तिक १०, २०८३ / Monday, Oct, 26 ,2026

पोखरीको फोहोर पूर्वाधार विकास कार्यालयमा ल्याएर फालियो


  • उज्यालो अभियान

मलंगवा, ०८ कात्तिक – सौन्दर्यकरणको काम सात वर्षदेखि अलपत्र परेपछि सर्लाहीको मुसैलीका युवाले गाउँको पोखरीमा जम्मा भएको फोहोर शनिबार पूर्वाधार विकास कार्यालय मलङ्गवाको परिसरमा ल्याएर फालेका छन् ।

मलङ्गवा नगरपालिका-७, मुसैलीमा रहेको बड्की पोखरी सौन्दर्यकरणको काम अघि बढाउन माग गर्दै युवाले यसअघि असोज २६ गते पूर्वपश्चिम हुलाकी राजमार्गमा चक्काजाम गरेका थिए । यत्तिका दिनसम्म अलपत्र काम अघि बढाउन बेवास्ता गरिएको भन्दै आक्रोशित युवाले शनिबार बिहान पोखरीबाट एक ट्याक्टर जलकुम्भी ल्याएर पूर्वाधार विकास कार्यालय मलङ्गवाको गेटमा फालेका हुन् ।

कार्यालय भने अहिले दशैँ बिदाले बन्द रहेको छ । मधेश प्रदेश सरकारले मुसैलीस्थित बड्की पोखरी सौन्दर्यकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सात वर्षअघि सात करोड १८ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सरकारका तत्कालिन मन्त्री महेन्द्र राय यादव, तत्कालिन मधेश प्रदेश सभा सदस्य अशोक यादवलगायत भएर पोखरी सौन्दर्यकरण कार्यको भव्यरुपमा शिलान्यास गरेका थिए । असोज २६ गते चक्काजामपछि आफूहरुले निरन्तर पोखरी सरसफाई गरी १३ औँ दिनमा शनिबार भने चेतावनीस्वरुप पहिलो चरणमा एक ट्याक्टर फोहोर जिम्मेवार कार्यालयमा ल्याएर फालिदिएको आन्दोलनको नेतृत्वकर्ता सर्लाही क्याम्पस मलङ्गवाका स्ववियु सभापति सुजितकुमार यादवले जानकारी दिए ।

सौन्दर्यकरण अन्तर्गत शिलान्यासबाहेक अन्य काम नभएको पोखरी दिनानुदिन कुरुप बन्दै गएको र जलकुम्भीले भरिएको भन्दै मुसैलीवासीले अलपत्र काम तत्काल अघि बढाउन युवाको माग छ । एकातर्फ सौन्दर्यकरणको काम अलपत्र पारिएको र अर्कोतर्फ पोखरी सुकाएर छाड्दा गाउँको बौधीदेवी माध्यमिक विद्यालयलाई पोखरी ठेक्काबाट हुने आम्दानी गुमेकोप्रति स्थानीय आक्रोशित बनेका छन् ।

माछापालनका लागि पोखरी ठेक्का लगाउन नपाएर आम्दानी कम हुँदा गाउँको विद्यालयले निजी स्रोतको शिक्षक राख्न नसकेको गाउँलेको भनाइ छ । त्यसको असर प्रत्यक्षरुपमा आफूहरुको बालबालिकाको अध्ययनमा परेको स्थानीयले बताएका छन् ।