logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको उत्तरी भेगका केही ठाउँमा ‘आरीघोप्टे’ वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

हरिवन, ०२ साउन – सर्लाहीको उत्तरी भेगका केही ठाउँमा आज साँझपख एकैछिन ठुलो पानी परेको छ ।

उत्तरी भेगका हरिवन, बागमती र लालबन्दीका केही भागमा एकैछिन आरीघोप्टे वर्षा भएको हो । हरिवन नगरपालिका–२, अत्रौलीका विश्वनाथ कुशवाहाले साँझ ५ बजेतिर एकैछिन घरघोर पानी परेर सबैतिर जलमग्न भएको बताए ।

चुरेवर्ती क्षेत्रमा पानी परेकाले आकस्मिक ठुलो बाढी आउन सक्ने भन्दै बागमती, लखन्देही, चापिनीलगायत खहरे खोला किनारमा बसोवास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

सर्लाहीमा आज बिहानैदेखि ठुलो पानी पर्लाजस्तो भई बारम्बार मौसम बदली भइरहेको छ । एकैछिनमा पानी पर्ने र रोकिनेक्रम जारी छ ।

यो वर्ष धेरै मात्रामा खण्डवृष्टि अर्थात् नजिकै एक ठाउँमा पानी पर्ने र अर्को ठाउँमा नपर्ने भइरहेको छ ।

पानी पर्ने तथा मौसम बदली हुने भइरहँदा यस क्षेत्रका स्थानीयले गर्मीबाट केही मात्रामा राहत पाइरहेका छन् । तर बिजुली बत्ती भने छिनछिनमै कटौति भइरहने समस्याले स्थानीय हैरान छन् ।

यसैबिच,

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा विकसित प्रणाली उत्तर–पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिनमार्फत जानकारी गराएको छ ।

महाशाखाका अनुसार देशभरको हिमाली/पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक/दुई ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

आरिघोप्टे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले चेतावनी जारी गर्दै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने बताएको हो । प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । विशेष गरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाडी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा पहिरो पन्छाउन उपकरण तयारी राख्न आग्रह गरेकी छन् ।