नाढीमन, १९ असार – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको संयोजनमा नाढीमन तालस्थित जेनजी आन्दोलनमा आगजनी भएको गाउँपालिका कार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह, विभिन्न वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुखहरु, कर्मचारी, स्थानीय राजनीतिज्ञ, समाजेवी, संचारकर्मी, आम नागरिकलगायतको उपस्थिति रहेको थियो ।

सहभागीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि विद्युतीकरण, सडक, रोजगारीलगायत विषयमा गुनासा तथा सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु र विषयत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

कानूनी व्यवस्था अनुसार चालु आर्थिक वर्षको संचालित कार्यक्रमबारे राय लिन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा स्थानीयको माग सम्वोधन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।