ईश्वरपुर, ३० पुस – ग्रामीण नारी उत्थान संघ हरिपुर २ सर्लाही र सेभ द चिल्ड्रेन को सहयोगमा तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा ईश्वरपुर नगरपालिकाका वडा नं १० र ९ नम्बर वडाका वीरेन्द्र प्रा. वि. रामनगर, ईश्वरपुर–९ र जनता आधारभूत विद्यालय खोरियाटोल, ईश्वरपुर –९ तथा जुडि जनता प्रा. वि. खैरा, ईश्वरपुर–१० का तीनवटा विद्यालयहरुका सीमान्तकृत, गरिब विपन्न र अपाङ्गता भएका बाल विकास देखि कक्षा ५ का जम्मा ३४४ जना बालबालिकाहरूका लागि शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयमा अपाङ्गता, गरिब तथा विपन्न भएकै र शैक्षिक सामग्रीहरुको अभावका कारण बालबालिकाहरुले विद्यालय भर्ना नहुने तथा विद्यालयमा निरन्तर उपस्थिति दरमा वृद्धि गराउने उद्देश्यले संस्थाले विगत का वर्ष झैँ यस वर्ष पनि विभिन्न विद्यालयहरूमा रहेका बालबालिकाहरूका लागि सो सामग्रीहरू वितरण गरेको हो । शैक्षिक सामग्रीहरूले अभिभावक सहित बालबालिका र विद्यालय परिवार समेतले आगामी दिनमा विद्यालयमा बालबालिकाहरूको उपस्थितिदर वृद्धि हुने तथा सिकाई उपलब्धिमा समेत सकारात्मक परिवर्तन देखापर्ने विश्वास लिएको जानकारी दिएका थिए ।
उक्त कार्यक्रम ईश्वरपुर वडा नम्बर १० मा वडा अध्यक्ष राश नारायण चौधरी, त्यसैगरी ईश्वरपुर वडा नम्बर ९ मा वडा अध्यक्ष नन्दलाल चौधरीको अध्यक्षता तथा सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिनिधि सदस्य तथा प्रधानाध्यापक र शिक्षकहरूको सक्रिय उपस्थितिमा सुसम्पन्न भएको थियो ।
संस्थाले ईश्वरपुर नगरपालिका तथा हरिपुर नगरपालिकाका सबै विद्यालयहरूमा बालबालिकाहरूको उपस्थिति, गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार निर्माण लगायतका अन्य क्षेत्रहरूमा समेत स्थानीय पालिका सँग समन्वय तथा सहकार्यमा निरन्तर रूपमा कार्य गर्दै आइरहेको संस्था उपाध्यक्ष श्री विष्णुप्रसाद चालिसेले जानकारी दिए ।