मलंगवा, २५ पुस – सदरमुकाम मलङ्गवास्थित करदाता सेवा कार्यालय बन्द गर्न लागिएको भन्दै उद्योग वाणिज्य सङ्घ सर्लाहीले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
उद्योग वाणिज्य सङ्घ मलङ्गवा सर्लाहीले आज जिल्ला प्रशासन कार्यालय र करदाता सेवा कार्यालय मलङ्गवामार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै करदाता सेवा कार्यालय अन्यत्र सार्ने वा बन्द गर्ने निर्णय मान्य नहुने जनाएको हो । करदाता सेवा कार्यालय मलङ्गवाबाट यस भेगका २० हजार उद्योगी, व्यवसायीले सेवा प्राप्त गरिरहेको र राज्यलाई समयमै कर बुझाउँदै आएकोमा कार्यालय नै बन्द गर्ने तयारी भइरहेको भन्दै उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको हो ।
जिल्लाका व्यापारीले निकै दौडधुप गरेर स्थापना गरेको कार्यालय बन्द हुँदा उद्योगी, व्यवसायीले धेरै दुःख पाउने अवस्था आउने उद्योग वाणिज्य सङ्घ सर्लाहीका कार्यवाहक अध्यक्ष अरुणकुमार कुँवर र महासचिव सुजय रायद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
उद्योग वाणिज्य सङ्घ मलङ्गवा सर्लाहीले कार्यालय बन्द गर्ने निर्णय तुरुन्त थमौती गर्न र बरु यहाँ आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गरेको छ ।
करदाता सेवा कार्यालयको मलङ्गवामै पाँच कठ्ठा जग्गा रहेको र सो जग्गामा भवन बनाउन मधेश प्रदेशबाट बजेटसमेत प्राप्त भइसकेको अवस्थामा कार्यालय बन्द गर्ने निर्णय स्वीकार्य नरहेको उद्योग वाणिज्य सङ्घ मलङ्गवाले जनाएको छ ।