चिसो छल्न सर्लाहीको हरिपूर्वा क्षेत्रमा आगो बालेर तापिरहेका स्थानीय । (तस्बीर : मुकेश झा)
लालबन्दी, २५ पुस – सर्लाहीमा आज चिसो अझ बढेको छ ।
यहाँका वासिन्दाले आज अन्य दिनभन्दा असाध्य बढी कठ्यांग्रिदो चिसो महसुस गरिरहेका छन् । यहाँ आज दिनभर नै घाम लाग्न सकेन ।
बाक्लो हुस्सु, कुहिरो, शीतलहर र चिसो स्याँठ निरन्तर जारी नै छ । यहाँ यसअघि हिजो दिनभर पारिलो घाम लाग्दा स्थानीयले न्यानो पाएका थिए । तर आज फेरि मौसम प्रतिकूल बनेको हो ।
कठ्यांग्रिँदो गरी चिसो हुँदा बालबालिका, बृद्धवृद्धा, अशक्तलगायत सबै मानिस प्रभावित छन् । गरिब र पिछडिएको दलित बस्तीको अवस्था झन दयनीय बनेको छ । चिसो छल्न मानिसहरु घर, चोक, चौतारा र बजारमा आगो बालेर तापिरहेको देखिन्छ ।
दक्षिणी भेगमा आगो ताप्ने दाउरा नहुँदा स्थानीय परालको घुर तापेर बसिरहेका छन् । यो जाडोमा कतिपय गरिब तथा दलित परिवारमा पराल ओछ्याएर सुत्नुपर्ने र पातलो कपडाको भर पर्नुपर्ने बाध्यता छ ।
अत्यन्त अशक्त भइसकेका केही ज्येष्ठ नागरिकको यो चिसोमा मृत्यु भइसकेको छ भने चिसोकै कारण बालबालिकासहित अन्य मानिस बिरामी पर्न थालेका छन् ।
यस वर्ष पुस लागेदेखि नै यसरी निरन्तर हुस्सु, कुहिरो लाग्दा गोलभेँडा, तोरी, आलु, मकैलगायतका बालीनालीमा व्यापक मात्रामा ठडीजन्य संक्रमणले भेटेको र औषधि छिट्दाछिट्दा हैरान भएको किसानले गुनासो गरेका छन् । वस्तुभाउ र पन्छीसमेत चिसोले कठ्यांग्रिएका छन् ।