तस्बिर : राजिब साह
मलंगवा, २५ पुस – सर्लाही सदरमुकाम मलंगवामा आज परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा अन्तर्गत मिनिल्याप तथा भ्यासेक्टोमी शल्यक्रिया घुम्ती शिविरको उद्घाटन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना, मलंगवा नगरपालिकाको सहकार्य तथा मेरी स्टोप्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा आज बिहान प्रादेशिक अस्पताल मलंगवामा शिविरको उद्घाटन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाको अध्यक्षता तथा मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, प्रादेशिक अस्पतालका निमित्त प्रमुख डाक्टर रामप्रकाश साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादव, मेरी स्टोप्सका डा. सुरेश साक्य र परिक्षा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवले पछिल्लो समय बजेट कटौतीका कारण परिवार नियोजन कार्यक्रम सीमित हुँदै गएको बताउँदै आगामी दिनमा पनि मलंगवा नगरपालिकाले परिवार नियोजन सेवामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. झाले चालु वर्षमा मात्र सर्लाही जिल्लामा करिब आठ सय जनाले परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा लिइसकेको जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन हुने यस शिविरमा १५० जनाले सेवा लिने अपेक्षा गरिएको र दक्ष तथा अनुभवी चिकित्सकद्वारा शल्यक्रिया गरिने कार्यक्रम संचालक मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले बताए ।