अत्रौली, २५ पुस – सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–१, भोक्टेनी गाउँमा डिप बोरिङ गाडेर घरघरमा खानेपानीमा धारा झारिएको छ ।
हिउँदका महिनामा गाउँका इनार सुक्दा खानेपानीको चरम समस्या भोग्न बाध्य स्थानीय अहिले भने घरमै खानेपानीको धारा झरेपछि खुसी भएका छन् । मधेश प्रदेश सरकारको ३७ लाख रुपियाँ र हरिवन नगरपालिका १ नं. वडा कार्यालयको ३३ लाख रुपियाँ लागतमा बोरिङ गाड्ने, ट्रान्सफर्मर राख्ने, पोल गाड्ने र खानेपानीको पाइप विस्तार गर्नेजस्ता काम सम्पन्न गरी सोमबारबाट घरघरको धारामा पानी पठाउन सुरु गरिएको हो ।
धारा जडान गरेका प्रत्येक स्थानीयको घरमा खानेपानी झर्न थालिसकेको वडाध्यक्ष टमबहादुर तामाङले जानकारी दिए । उनले भने– “जजस्ले धारा राखिसक्नु भयो उहाँहरुकोमा पानी झर्न थालिसकेको छ । कतिपयले अहिले धमाधम धारा जडान गर्ने काम गरिरहेका छन् ।”
भोक्टेनी गाउँका २०० बढी घरधुरी खानेपानीबाट लाभान्वित हुने छन् । चैत, बैशाखतिर गाउँमा रहेका सम्पूर्ण इनार सुकेर पिउने पानीका लागि हैरानी खेप्ने स्थानीय अब बोरिङबाट नियमित पानी आउने आशमा रहेका छन् ।

स्थानीय ज्येष्ठ नागरिक सुशीलाकुमारी श्रेष्ठले घरमै खानेपानीको धारा झर्दा सहज भएको भन्दै खुसी व्यक्त गरेकी छन् । “घरमा बुढाबुढी मात्रै हुँदा इनारबाट पानी ओसारेर खान समस्या थियो अब त घरमै धारा आइपुग्यो, ” श्रेष्ठले भनिन् “यसैगरी बाह्रैमास पानी आइदिए त असाध्य सुख हुन्थ्यो ।”
उपभोक्ता समितिले खानेपानी प्रयोगबापत उपभोक्ताबाट तत्काल एक महिनाका लागि कुनै शुल्क नलिने निर्णय गरेको छ । त्यसपछि भने समितिको बैठक बसेर न्यूनतम शुल्क उठाउने तयारी गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले जानकारी दिए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष साहका अनुसार उपभोक्तालाई आफ्नो घरमा खानेपानीको धारा जडान गर्दा लाग्ने ज्याला र सरसामग्रीको आठ हजार २०० रुपियाँमध्ये वडा कार्यालयले दुई हजार रुपियाँ तिरिदिएको छ । साहले भने, “बाँकी छ हजार २०० रुपियाँ उपभोक्ताले नै तिरेर धमाधम धारा राखिरहनुभएको छ ।”
गाउँमा खानेपानी वितरणका लागि बोरिङ गाड्न, ट्रान्सफर्मर र मिटर राख्न स्थानीय वडा सदस्य उदयनारायण ठाकुर र अर्का स्थानीय हरि ठाकुरले जग्गा प्रदान गरेका छन् । उनीहरुले खानेपानीका लागि तीन कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको उपभोक्ता समितिका अध्यक्ष साहले बताए ।