सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २५ पुस – फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा करिव चार हजार निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सरोज राईले सर्लाहीका लागि तीन हजार ९२६ जना निर्वाचन प्रहरी भर्ना गर्नुभनी गृह मन्त्रालयबाट कोटा तोकेर आएको जानकारी दिए । आज (पुस २५ गते) देखि आगामी माघ १ गतेसम्म सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेका व्यक्तिबाट निर्वाचन प्रहरी भर्नाको दरखास्त लिन सुरु गरिने डिएसपी राईले बताए ।
राईका अनुसार सर्लाहीका लागि तीन हजार ९२६ जना निर्वाचन प्रहरीको कोटा तोकिए पनि महिला र पुरुष कति जना नियुक्त गर्ने भन्ने छुट्याइएको छैन् । तीन हजार ९२६ जना मध्ये जिल्लाले नै आवश्यकता अनुसार महिला, पुरुषको छनौट गर्ने डिएसपी राईको भनाइ छ ।
यसअघिको स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भएका व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक, पूर्व वन रक्षक, पूर्व प्रहरीलगायतलाई प्राथमिकता दिएर निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले कम्तीमा ४० दिन हुने र यदि सरकारले निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सोही बमोजिम हुने छ । गृह मन्त्रालयले जिल्लामा रहेका मतदानस्थलहरुको सङ्ख्या र संवेदनशीलताको अवस्थालाई हेरेर प्रत्येक जिल्लामा निर्वाचन प्रहरीको कोटा निर्धारण गरेको छ ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थलमा ६२८ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लाका ३१२ मतदानस्थलमध्ये सुरक्षाको हिसाबले २३ वटा सामान्य, १३१ वटा संवेदनशील र १५८ वटा अतिसंवेदनशील सूचीमा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अघि बढ्दै गर्दा जिल्लामा निर्वाचन कार्यालयले समेत तयारीका काम धमाधम अघि बढाएको छ । जिल्ला विर्नाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले आफू विभिन्न निर्वाचन सामग्री लिन अहिले काठमाडौंस्थित निर्वाचन आयोग पुगेको उज्यालो अभियानसँग बताए ।
जिल्लामा जिल्ला निर्वाचन कार्यालय आफैले खरिद गर्ने विभिन्न सरसामग्रीको खरिद प्रक्रियासमेत अघि बढिसकेको जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ । उनका अनुसार फागुन २१ को निर्वाचनका लागि सर्लाहीमा पाँच लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भइसकेका छन् ।
निर्वाचनका लागि जिल्लाबाट अधिकांश राजनीतिक दलले केन्द्रीय समितिमा आकांक्षी उम्मेदवारको नामावलीसमेत पठाइसकेको अवस्था छ ।
चोक, चौतारा, बजार र चिया पसलमा निर्वाचनबारे व्यापक चर्चा हुन थालेको छ ।