अहिले बिहान लालबन्दीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा लागेको बाक्लो हुस्सु, कुहिरो । (तस्बीर : रितिक यादव)
लालबन्दी, २५ पुस – सर्लाहीमा आज फेरि बिहानैदेखि बाक्लो, हुस्सु कुहिरो लागेर ढाकेको छ ।
यहाँ यसअघि हिजो दिनभर पारिलो घाम लाग्दा स्थानीयले न्यानो पाएका थिए । तर आज फेरि बिहानैदेखि १०० मिटर अगाडिको दृश्यसमेत नदेख्ने गरी डम्म भएर बाक्लो हुस्सु, कुहिरो लागिरहेको हो ।
यस्तो मौसममा सवारी दुर्घटनाको जोखिम उच्च हुने भएकाले पैदलयात्रा गर्दा, साइकल, मोटरसाइकल तथा अन्य सवारी साधन चलाउँदा विशेष ख्याल गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले आग्रह गरेको छ ।
यस वर्ष पुस लागेदेखि नै यसरी निरन्तर हुस्सु, कुहिरो लाग्दा गोलभेँडा, तोरी, आलु, मकैलगायतका बालीनालीमा व्यापक मात्रामा ठडीजन्य संक्रमणले भेटेको र औषधि छिट्दाछिट्दा हैरान भएको किसानले गुनासो गरेका छन् ।
सर्लाहीमा हिजो पनि बिहानभर यसैगरी हुस्सु, कुहिरो लागेर दिउँसोपख पारिलो घाम लागेको थियो । अहिले बिहानको यस्तो खराब मौसमसँगै कठ्यांग्रिँदो गरी चिसो हुँदा बालबालिका, बृद्धवृद्धा, अशक्तलगायत सबै मानिस प्रभावित छन् ।
चिसो छल्न मानिसहरु घर, चोक, चौतारा र बजारमा आगो बालेर तापिरहेको देखिन्छ ।