logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चन्द्रनगर गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्दै


  • उज्यालो अभियान

नाढीमन, २४ पुस – सर्लाहीको चन्द्रनगरमा गाउँपालिका कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण कार्य जारी छ ।

जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल नाढीताल छेउमा तीनतले सुविधायुक्त प्रशासनिक भवन निर्माण भइरहेको हो । पाँच करोड ३८ लाख रुपियाँमा ठेक्का लागेको भवन आगामी असार मसान्तसम्म निर्माण व्यवसायीले गाउँपालिका कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता रहेको छ ।

साबिक चन्द्रनगर गाउँ विकास समिति (गाविस) को साँघुरो भवन र पछि केही पार्टेसन गरेर बनाइएका कोठाहरुबाट गाउँपालिका कार्यालय सञ्चालन हुँदै आएको थियो । उक्त भवन र पार्टेसन गरिएका कोठाहरु गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट पूर्ण क्षति पुगेको छ ।

उक्त ठाउँमा बसेर कार्यालय सञ्चालन गर्न सम्भव नभएपछि अहिले नजिकै गाउँपालिकाको सभाहललाई पार्टेसन गरेर कार्यालय सञ्चालन गरिँदै आइएको छ । जेनजीको नाउमा केही अराजक समूहले गाउँपालिका कार्यालय नै जलाएपछि सभाहललाई पार्टेसन गरेर जसोतसो गाउँपालिकाको सम्पूर्ण कामकाज सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको निर्माण कार्य पूरा नहुन्जेल प्रशासनिक कामकाज गर्न समस्या नै रहेको उहाँको भनाइ छ । निर्माण व्यवसायीले प्रशासनिक भवनको तीनवटै तला ढलान सकेर बाँकी काम गरिरहेका छन् ।

गाउँपालिका घोषणा हुँदा देखि नै भवनको लागि असाध्य समस्या रहेकोमा अब निर्माणाधीन भवनको काम पुरा हुनासाथ यो समस्या समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहले बताए ।