हरिवन, २३ पुस – सर्लाहीमा आज यस वर्षकै सबैभन्दा बढी कठ्यांग्रिदो चिसो महसुस गरिएको छ ।
यहाँ दिनभर नै घाम लाग्न सकेन । चिसो स्याँठ चलेर हुस्सु, कुहिरो लाग्ने र शीतलहर चल्ने भइरहेको छ । चिकित्सकले यस्तो मौसममा सकेसम्म घरभित्रै न्यानो भएर बस्न आग्रह गरेका छन् ।
बुढापाका, शारीरिक अवस्था कमजोर भएका मानिस र बालबालिकालाई चिसोले गाह्रो पार्ने भएकाले अझ बढी ख्याल गर्न चिकित्सकको आग्रह छ । ठिर्याउने गरी चिसो हुँदा मानिसको दैनिकी नै प्रभावित बनेको छ ।
सर्लाहीसहित मधेश प्रदेशमा यो वर्ष पुस लागेदेखि कहिलेकाँही घाम लागे पनि त्यसपछि यसैगरी रातदिन शीतलहर चल्ने, बाक्लो हुस्सु लाग्ने, स्याँठ चल्ने हुँदा मानिससँगै वस्तुभाउ, पन्छी र बालीनाली निकै प्रभावित बनेका छन् ।