logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

वनरक्षक हत्या प्रकरण : रगतको ‘फरेन्सिक’ परीक्षण हुने


  • उज्यालो अभियान

मृतक रामइश्वर महतोको घर अगाडि भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)

बयलवास, २१ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा वनरक्षक रामईश्वर महतोको हत्या प्रकरणमा प्रहरीले फरेन्सिक परीक्षण गर्ने भएको छ ।

सागरनाथ वन विकास परियोजनामा ज्यालादारी चौकीदारका रुपमा कार्यरत ४९ वर्षीय महतोको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले शनिबार नै छिमेकी एक युवकलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान भइरहेकाले दुई दिनदेखि इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको हिरासतमा राखिएको ति युवकको नाम तथा अन्य विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन् ।

प्रहरीले ति युवकको घरबाट रगत लतपतिएको कपडा, रामईश्वरको हत्यामा प्रयोग भएको रगत लतपतिएको बन्चरो र शंकास्पद भनिएका व्यक्तिले लगाएको चप्पलसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं डिएसपी सरोज राईले घटनामा प्रहरीले विभिन्न दसी फेला पारेकाले अनुसन्धान सहज बन्दै गएको बताए।

प्रमाणलाई थप बलियो बनाउन कपडा, बन्चरोलगायतमा लागेको रगत फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने डिएसपी जानकारी दिए । “हामी प्रारम्भिक अनुसन्धानमै रहेकाले अभियुक्तबारे अहिले नै सार्वजनिकरुपमा केही भन्न मिल्दैन्,” डिएसपी राईले उज्यालो अभिायनसँग भने, “घटनास्थलबाट हत्यामा प्रयोग भएका विभिन्न सामग्रीको प्रमाण जुटाएकै छौँ, अब ति प्रमाणमा लतपतिएका रगतको फरेन्सिक जाँच गराउने तयारी गर्दैछौँ ।”

हिजो दिउँसो घर नजिकै सागरनाथ वन विकास परियोजनाको जङ्गल नजिक पलौट क्षेत्रमा टाउको छिनाएर बीभत्स हत्या गरिएको अवस्थामा मृत फेला परेका रामईश्वरको २४ घण्टापछि हिजो दिउँसो टाउको भेटिएको थियो । मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि आज बिहान परिवारले बुझेर सतगत गरिसकेका छन् ।

ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले आज बिहान सारा गाउँले उपस्थित भएर मृतक रामईश्वरको सतगत गरिएको जानकारी दिए । स्थानीय वासिन्दाले करिव १२ वर्षदेखि सागरनाथ वन विकास परियोजनामा चौकीदार (वनपाले) को काम गर्दै आएका रामईश्वरको वन तस्करले हत्या गरेको बताइरहेका छन् ।

मृतक रामईश्वरका दाई रामपृत महतोले कुशलतापूर्वक वन संरक्षणमा खटिएका आफ्नो भाईको काठ तस्करले क्रूर ढंगले हत्या गरेका बताए ।

घटनाको प्रकृति हेर्दा प्रहरीले अहिले हिरासतमा राखेको एक जना व्यक्तिले मात्रै हत्या गर्न असम्भव जस्तो देखिएकाले दोषी सबैलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न उनले माग गरेका छन् ।