logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा को-को तोकिए निर्वाचन अधिकृत ?


  • उज्यालो अभियान

जिल्ला निर्वाचन कार्यालय सर्लाही ।

मलंगवा, २१ पुस  – निर्वाचन आयोगले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले देशभरका सम्पूर्ण निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोक्दा सर्लाहीका चारवटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत छनौट भएका हुन् । हरेक जिल्लामा मुख्य न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

त्यसअनुसार सर्लाहीमा जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलिया मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । थपलिया नै सर्लाहीको क्षेत्र नं. २ को निर्वाचन अधिकृतसमेत रहने छन् ।

यसैगरी क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोदप्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् ।

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ पहिलो साता निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ । यसअघिको निर्वाचनमा क्षेत्र नं. १ को लालबन्दी, क्षेत्र नं. २ को मलङ्गवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । अहिले भने यसबारे निर्णय भइसकेको छैन् ।

निर्वाचन आउन अब ठीक दुई महिना बाँकी रहँदा जिल्लामा तयारीका काम धमाधम अघि बढेका छन् भने राजनीतिक दलहरु उम्मेदवार छनौट गर्ने प्रक्रियामा छन् ।

सर्लाहीमा फागुन २१ को निर्वाचनका लागि ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन् । जिल्लाभर ३१२ मतदानस्थलमा ६२८ वटा मतदान केन्द्र निर्धारण भइसकेका छन् ।