logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कारभित्र लुकाइएको ६० केजी गाँजा बरामद, एक जना पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, २० पुस – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट लागुऔषध गाँजासहित आज एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान ५ बजे झिसमिसेमै हरिवन नगरपालिकाको डाबरीतर्फबाट लालबन्दी आउँदै गरेको बीआर ०२ पिबी २२२६ नम्वरको भारतीय कार र बागमती प्रदेश ०६–०२ प १७७० नम्वरको मोटरसाइकललाई रेकी गर्नेक्रममा प्रहरीले कारभित्रबाट गाँजा बरामद गरेको हो । यि दुई सवारीलाई प्रहरीले रोक्न खोज्दा रोक्नै नमानेपछि पिछा गर्दै जाँदा प्रहरीले मोटरसाइकल चालक नवलपुरकै ३२ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिएको छ ।

साहले नै कारभित्र गाँजा रहेको बताएपछि प्रहरीले कारको समेत पिछा गरेको थियो । उक्त कारलाई लखेट्दै जाँदा नवलपुरको जंगल टोलका लालबाबु महतोको घरमा कार ठोक्किन पुग्यो । त्यतिबेलै कारका चालक कारबाट झरेर फरार हुन सफल भए ।

उक्त कारमा खानतलासी लिँदा सिट पछाडि लुकाइराखिएको १५ वटा पोकामा रहेको ६० केजी गाँजा बरामद भएको लालबन्दी प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको नुरहसन साहलाई सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।