logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एमालेको केन्द्रीय कमिटीमा सर्लाहीका यी पाँचजना विजयी, तीनजना पराजित


  • उज्यालो अभियान

केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित जय प्रकाश यादव ।

हरिवन, ०४ पुस – नेकपा एमालेको एघारौं महाधिवेशनबाट सर्लाहीका ४ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने एकजना केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका छन् ।

ईश्वरपुर नगरपालिका निवासी महिला नेतृ राधिका खतिवडा १९१५ मतसहित महिलाको खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । खतिवडा हाल काठमाडौंमै बसेर कानून व्यवसाय समेत गरिरहेकी छिन् ।

त्यस्तै पूर्व रक्षा मन्त्री समेत रहेका सर्लाही क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेती मधेश भुगोलबाट १५०१ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए । एमाले सर्लाहीका जिल्ला इन्चार्ज समेत रहेका उप्रेती यसअघि पनि केन्द्रीय सदस्य थिए ।

त्यसैगरी बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल मधेश महिलातर्फ १५०६ मतसहित केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । उनि यसअघि पनि केन्द्रीय सदस्य रहेकी थिइन् ।

त्यस्तै सदरमुकाम मलंगवा निवासी रौनित साह ४० वर्ष मुनिका मधेशी युवा तर्फबाट निर्विरोध निर्वाचित भए । उनि नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहका छोरा हुुन् ।

त्यसैगरि केन्द्रीय अनुशासन आयोगको सदस्यमा हरिपूर्वा निवासी जय प्रकाश यादव १७८८ मतसहित विजयी भए । उनि एमालेको तर्फबाट हरिपुर्वा नगरपालिकामा मेयरका प्रत्यासी हुन् ।

त्यस्तै मधेश महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी हरिपुर निवासी रञ्जना कुमारी सरकार ८०१ मतमात्र प्राप्त गर्दा पराजित भइन् । यसअघि पनि केन्द्रीय सदस्य रहेकी सरकारलाई ईश्वर पोखरेलको प्यानलले आफ्नो लिष्टमा राखेको थियो । यद्यपी उनले आफू कुनैपनि प्यानलबाट नभई स्वतन्त्र रुपमा उठेको बताउने गरेको एक एमाले कार्यकर्ताले बताए ।

त्यस्तै मधेश भूगोलबाट केन्द्रीय सदस्यका उम्मेद्वार कर्मैया निवासी रेवती पन्तले ५३४ मतमात्र प्राप्त गर्दा पराजित भए । नेकपा एमाले सर्लाहीका अध्यक्ष तथा मधेश प्रदेशको उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका पन्तले इश्वर पोखरेलको प्यानलबाट उम्मेद्वारी दिएका थिए । त्यस्तै खुला केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका लालबन्दीकाे परबानिपुर निवासी प्रकाश थापा ४३० मतमात्र प्राप्त गर्दै पराजित भएका छन् । एक एमाले कार्यकर्ताका अनुसार थापाले ईश्वर पाेखरेलकाे प्यानलबाट उम्मद्वारी दिएका थिए ।