लालबन्दी, २३ मंसिर – सर्लाहीको ३ वटा निर्वाचन क्षेत्रमा कांग्रेस क्षेत्रीय कार्य समितिको बैठक आज बस्दै छ ।
पार्टीको आसन्न १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नवीकरणसहितका निर्णय र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो । क्षेत्र नं. १ को बयलवास, क्षेत्र नं. २ को मलंगवा र क्षेत्र नं. ४ को धनकौलमा क्षेत्रीय बैठक आयोजना गरिएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
जिल्ला सचिव कार्कीका अनुसार क्षेत्र नं. ३ को बैठक भने केही दिनपछि बस्ने छ । क्षेत्रीय समितिले सिफारिस गरेको उम्मेदवारबारे मंसिर २६ गते जिल्ला कार्य समितिको बैठकबाट माथिल्लो समितिमा सिफारिस गर्ने जिल्ला सचिव कार्कीले बताएका छन् ।
यसैबिच, आज बिहानै बसेको कांग्रेस क्षेत्र नं. १ (ख) को बैठकले प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र भित्रैका नेतालाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको क्षेत्र नं. १ (ख) का क्षेत्रीय सभापति सीताराम दाहालले उज्यालो अभियानसँग बताएका छन् ।