मलंगवा, २० मंसिर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार बिहान सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । केही समय छलफल र बहसमा खेर फाले पनि अब छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा सरिक हुने निर्णय गरिएको कांग्रेस महामन्त्री थापाको भनाइ छ ।
पार्टीको महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढाइएको थापाले बताए । कांग्रेस महामन्त्री थापाले वर्तमान सरकारले फागुन २१ मा चुनाव गराउने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेस महामन्त्री थापाले आफू यो पटक पनि काठमाडौंबाटै चुनाव लड्ने बताए । सर्लाहीको क्षेत्र नं. ४ बाट यसअघिको निर्वाचनमा समेत चुनाव लड्न प्रस्ताव आए पनि पार्टीभित्र प्रायः आफ्नै क्षेत्रबाट चुनाव लड्ने परिपाटी रहेकाले आफू अहिलेकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी हुने कांग्रेस महामन्त्री थापाले बताए ।