मलंगवा, ११ मंसिर – सर्लाहीका पूर्व मधेश प्रदेशसभा सदस्य अशोकुमार यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
कविलासी नगरपालिकाको सलेमपुर निवासी यादव अशोक राई नेतृत्वको जसपामा मधेश प्रदेश अध्यक्ष थिए । यादव केही समयअघि मात्रै सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग गाली गलौचमा उत्रिएपछि चर्चामा आएका थिए ।
सोही मुद्दामा उनी प्रहरी हिरासतमा बसेर सर्लाही जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका थिए । तिनै यादव आज जसपाको मधेश प्रदेश अध्यक्ष परित्याग गरी भर्खरै एकीकरण भएको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
यादवलाई काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराएका छन् । यादवले नेकपामा कुन तहको जिम्मेवारी पाउने भन्ने प्रष्ट भइसकेको छैन् ।
यादवसहित उनका केही समर्थक पनि जसपा छाडेर नेकपामा प्रवेश गरेका छन् । यादवले राजनीतिको नयाँ अध्याय सुरु भएको प्रतिक्रिया दिएका छन् ।
सर्लाहीमा पछिल्लो समय विभिन्न मधेशवादी दलभित्र नेताहरु छिन्नभिन्ने हुनेक्रम तीव्र रुपमा भइरहेको छ ।