मलंगवा, १० मंसिर – जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आज महँगी नियन्त्रण, सीमा क्षेत्रका समस्या समाधान लगायतको माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवामा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधिर यादवले बताए । यादवका अनुसार बढ्दो महँगी नियन्त्रण, खुला सीमा नाकामा उत्पन्न समस्या समाधान, प्रशासनिक निकायबाट प्रवाह हुने सेवा सुविधा चुस्त दुरुन्त हुनुपर्नेसहितका माग गर्दै सिडिओमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझाउन पार्टीका जिल्ला अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सुनैना चौधरी, सुधिर यादव, बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय, कविलासी नगरपालिकाका पूर्व मेयर कौशलकिशोर रायलगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका थिए ।
जसपा नेपालको केन्द्रीय समितिले सबै जिल्लाहरुमा ज्ञापन पत्र बुझाउने निर्णय अनुसार आफूहरु जिल्ला प्रशासन कार्यालय पुगेको कविलासीका पूर्व मेयर कौशलकिशोर रायले उज्यालो अभियानलाई जानकारी दिए ।